काठमाडौं, १८ जेठ । सरकारले महान्यायाधिवक्ताको कार्यालय भवन २ वर्ष भित्र निर्माण गरिसक्ने योजना अघि सारेको छ । विनाशकारी भूकम्पले क्षति पु-याएको महान्यायाधिवक्ताको कार्यालय भवन २ वर्ष भित्र निर्माण गरीसक्ने कार्ययोजना तय गरिएको हो ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले भवन निर्माणका लागि नक्सा डिजाईन स्विकृत भईसकेको जानकारी दिए ।
सिंहदरबारको मूल गेट नजिक रहेको पूरानो महान्यायाधिवक्ताको कार्यालयमा नै नयाँ भवन निर्माण हुनेछ । भवन निर्माणका लागि १ अर्ब २७ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।
महान्यायाधिवक्ता खरेलले आगामी ३ वर्ष भित्र सबै सरकारी वकिल कार्यालयहरुको भवन निर्माणका कार्यक्रमहरु पनि संचालन गरिने योजना अघि सारे ।
महान्यायाधिवक्ताको कार्यालयले आगामी पुस ८, ९ र १० गते सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन आयोजना गर्ने कार्यक्रम पनि तय गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयको आगामी कार्यक्रमहरुमा सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलनलाई पनि प्राथमिकताका साथ समावेश गरिएको हो ।
महान्यायाधिवक्ताको कार्यालयले ‘हेलो साक्षी’ कार्यक्रम पनि संचालन गर्ने भएको छ । महान्यायाधिवक्ता खरेलले सरकारवादी मुद्दाका पीडित एवम् साक्षीहरुलाई न्यायिक प्रक्रियामा संलग्न गराई न्याय सम्पादन कार्यमा सहयोग पु-याउने उद्देश्यका साथ ‘हेलो साक्षी’ कार्यक्रम पनि संचालन गर्ने योजना अघि सार्नु परेको स्पष्ट पारे । यो कार्यक्रममार्फत् पीडित र साक्षीलाई वकपत्रको पूर्व सूचना उपलब्ध गराउने महान्यायाधिवक्ताको कार्यालयको योजना छ।
महान्यायाधिवक्ताको कार्यालयले बाल सुधार गृहको स्थापना र सुधार, हिरासत अनुगमन, पीडित मैत्री कक्षको व्यवस्थापन, प्रेस भेटघाटको कार्यक्रमलाई पनि प्राथमिकताका साथ अघि बढाउने योजना अघि सारेको छ ।
महान्यायाधिवक्ता खरेलले कानुन विपरित निर्णयको प्रतिरक्षा नगर्ने नीतिलाई पनि कडाईका साथ कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।