काठमाडौं, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन् ।
नेकपाको संसदीय दलको बुधबार बसेको बैठकले नेम्वाङलाई उपनेता चयन गरेको हो । बैठकले प्रमुख सचेतकमा देवप्रसाद गुरुङ र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ । बैठकले नेकपाको राष्ट्रियसभा संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरीब र जनतामुखी तथा संविधानको मौलिक हकलाई कार्यान्वयन गर्ने र संघीयताको संरचनालाई पृष्ठपोषण गर्ने खालको बजेट ल्याएको भन्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाको प्रसंशा गरेका थिए । उनले तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललाई कानून अनुसार आममाफी दिएको भन्दै त्यो कानून आफूले नबनाएको स्पष्ट पारे ।
उनले कांग्रेस नेता गगन थापाले आफूलाई महाराज होइन भनेकाप्रति धन्यवाद दिए । बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसद्मा प्रस्तुत बजेटका प्राथमिकता र विशेषताबारे प्रस्तुति गरेका थिए ।