काठमाडाैं, १६ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट नयाँ ढंगले तर्जुमा गरिएको दावी गरेका छन् । बजेटले नयाँ आशा जगाउन नसकेको टिप्पणी भईरहेका बेला अर्थमन्त्री खतिवडाले बुधबार पत्रकार सम्मेलन गरी बजेट नयाँ ढंगले तर्जुमा गरिएको बताएका हुन् ।
उनले बजेटले नागरिकहरुलाई सम्मानजनक ढंगले बाँच्न पाउने अधिकारी अन्तरगत रोजगारीलाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पारे । त्यसैगरी बजेटले आर्थिक–सामाजिक रुपान्तरणका लागि प्रविधिको प्रयोगमा पनि जोड दिने नीति लिएको बताए ।
अर्थमन्त्री खतिवडाले बजेटले समग्र शिक्षित नागरिक तयार पार्न शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विशेष जोड दिएको उल्लेख गरे ।
अर्थमन्त्री खतिवडाले रोजगारीको अवसर सृजनाका लागि तय गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधि केही दिन भित्रै सार्वजनिक गर्ने जानकारी दिए । उनले कार्यविधि भित्र रोजगारीको अवसर नपाउनेलाई क्षतिपूर्तिको व्यवस्था समेत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षाको रुपमा पनि रोजगारीलाई सरकारले पहिलो प्राथमिकता दिएको स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले परिपक्व नभएकाले बजेट आउनु अघि आफूले त्यसबारे संचारकर्मीहरुलाई पूर्व सूचना दिन नसकेको स्पष्ट पारे । मंगलबार अर्थमन्त्री खतिवडाले १३ खर्ब १५ अर्बको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका थिए ।