ठेकेदार मालामाल, विकास निर्माण सुस्त | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

ठेकेदार मालामाल, विकास निर्माण सुस्त

dhundure pul

गोरखा, १२ जेठ । डनबाजी गरेर ठेक्का हात पार्ने ठेकेदारहरू समयमा काम भने गर्दैनन्। नेता र कर्मचारीको संरक्षणमा रहेका ती ठेकेदारका कारण गोरखाका अधिकांश विकास निर्माणको काम वर्षौंदेखि अलपत्र छन्।

अहिले गृहमन्त्रीले काम नगर्ने ठेकेदारमाथि निगरानी बढाएसँगै जिल्ला प्रशासन कार्यालय गोरखाले पनि त्यस्ता ठेकेदारको सूची तयार गरेको छ। पूर्वाधार निर्माणको काम गर्ने कार्यालयहरूबाट संकलन गरेको अभिलेख अनुसार १ सय पाँचवटा आयोजनाको ठेक्का सम्झौता म्याद सकिँदा पनि सम्पन्न भएका छैनन्।

कर्मचारीलाई दबाब र प्रभावमा पारेर ठेकेदारले मोबिलाइजेसन (पेश्की) रकम लिएर सम्पर्कविहीन हुँदा कतिपय कामको प्रगति शून्य देखिएको छ। काम नगरी बारम्बार म्याद गुजार्ने ठेकेदारलाई कारबाही गर्नुको साँटो सम्बन्धित कार्यालयका प्रमुखहरू वर्षेनी म्यादथप गरेर संरक्षण गरिरहेका हुन्छन्।

बारपाक, लाप्राक, गुम्दा सडक स्तरोन्नतिको जिम्मा लिएका दहचोकी निर्माण सेवाका नवराज खड्काको काम गर्ने अवधि सकिएको छ। प्रगति भने शून्य प्रतिशत रहेको सडक योजना कार्यालयले जनाएको छ। स्याउलीबजार मनकामना सडकको स्तरोन्नतिको जिम्मा लिएका एस कन्स्ट्रक्सनका सुरेन्द्र बस्नेतले पनि काम सुरु नै नगरी कार्य अवधि गुजारेका छन्।

रायमाझी इशान जेभीका ठेकेदार भरतजंग रायमाझीले सोती खोलापुल बनाउन आठवर्षअघि दुई करोड ५४ लाखमा ठेक्का लिएका थिए। १ करोड १२ लाख रुपैयाँ भुक्तानी पनि लिइसकेका छन्। पाँच वर्ष अघि नै सम्पन्न भइसक्नु पर्ने सो आयोजनाको जग पनि तयार गरिएको छैन।

१७ वर्षअघि सुरु गरिएको कुन्दुरटार वृहत सिँचाइ आयोजनाका ठेकेदारहरू सम्पर्क विहीन हुँदा नहरको संरचना पुरेर कतै सडक बनिसकेका छन्, कतै घर बनिसकेका छन्। यो वर्षदेखि सिँचाइ कार्यालयले सो आयोजनाको काम निर्माणाधीन योजनाको सूचीबाट हटाएको जनाएको छ।

तिब्बत सीमानाको नल्याङभञ्ज्याङदेखि छेकम्पार, सिर्दीबासहुँदै सदरमुकाम जोड्ने सडक निर्माण गर्न सूर्य गोरखा जेभी कम्पनीले २०६८ सालमा सम्झौता गरेको हो। ६ करोड ३१ लाख र ८८ लाखको २ वटा प्याकेजको म्याद २०६९ भदौमा सकिएको हो। ठेकेदार उत्तम भट्टले एउटा प्याकेजको २ करोड ७५ लाख र अर्को प्याकेजको ३५ लाख रुपैयाँ भुक्तानी लगिसकेका छन्। आठ वर्षको अवधिमा आयोजनाको जम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको योजना कार्यालयका प्रमुख इञ्जिनियर अमृतमणि रिमाल बताउँछन्।

गत पुस महिनाभित्र सम्पन्न गर्ने गरी पप्पु कन्स्ट्रक्सनका सुमित रौनियारले २०७१ सालमा ठेक्का लिएको त्रिशुली नदीपुलको काम अहिलेसम्म जम्मा २२ प्रतिशत मात्र भएको छ। १७ करोड ४६ लाखमा ठेक्का लिएको कामको ठेकेदारले तीन करोड ३१ लाख भुक्तानी लगिसकेका छन्। छेपेटार सातदोबाटो लम्जुङ सडकको जिम्मा लिएका स्वच्छन्द नमिता हिरा सूर्य जेभीका रमेशकुमार श्रेष्ठले ४ करोड ९८ लाख मध्ये ४ करोड १५ लाख भुक्तानी लगिसकेका छन्। पाँच वर्ष अघि नै म्याद सकिएको छ तर काम भने अझै पूरा गरेका छैनन्। उनै ठेकेदारको अर्को ठेक्का पन्थडिही, कटहरे, हर्मी सडक आयोजनाको अवधि पनि पाँच वर्ष अघि नै सकिएको छ। भुक्तानी पनि लगिसकेका छन् तर काम भने अहिलेसम्म अलपत्र छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);