काम नगर्ने ठेकेदार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काम नगर्ने ठेकेदार पक्राउ

pakrau

गोरखा, १७ जेठ । आफ्नै वडामा स्वास्थ्यचौकी निर्माण गर्ने ठेक्का लिएर काम नगरेका गोरखाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। म्याद सकिएको २ वर्षसम्म पनि काम सम्पन्न नगरेको भन्दै भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। अलपत्र पारेको काम तत्काल सम्पन्न गर्ने कागजमा सही गराएर बुधबार बिहान रिहा गरिएको प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए।

श्रेष्ठले धुलिखेल निर्माण सेवाको ठेक्का फर्ममा बोर्लाङ स्वास्थ्यचौकी निर्माण गर्न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयसँग सम्झौता गरेका थिए। ०७३ साल असार ३ गते भवन निर्माण सम्पन्न गर्ने गरी ०७१ वैशाख २१ मा सम्झौता गरे पनि जम्मा ७० प्रतिशत मात्र काम गरेर बाँकी काम नगरेकाले पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्टराईले जानकारी दिए। ‘निर्माण व्यवसायी संघका पदाधिकारीको रोहवरमा तत्काल काम सम्पन्न गर्ने सर्तनामामा सही गराएर रिहा गरियो’, प्रजिअ भट्टराईले भने, ‘अझै थप नौ जनाको नाममा वारेन्ट जारी गरिएको छ। उनीहरूलाई पनि पक्राउ गर्छौं।’ श्रेष्ठ जनप्रतिनिधिसमेत रहेकाले चाँडै रिहा गरिएको उनले बताए। श्रेष्ठ तत्कालीन माओवादी केन्द्रबाट विजयी वडाध्यक्ष हुन्।

काम सम्पन्न गर्ने अवधि सकिँदा पनि काम नसक्ने र कार्यालयको सम्पर्कमा पनि नआउनेलाई पहिलो चरणमा पक्राउ गर्न सुरु गरिएको प्रजिअ भट्टराईले बताए। ‘लापरवाही गर्ने ठेकेदारलाई तीन भागमा बाँडिएको छ’, उनले भने, ‘प्रोजेक्टको अवधि सकिँदा पनि काम नसक्ने र सम्बन्धित कार्यालयको सम्पर्कमा नआउनेलाई कारबाहीको पहिलो नम्बरमा राखेका छौं। प्रोजेक्ट अवधि सकिएका, म्याद थप नभएकालाई दोस्रोमा र प्रोजेक्ट अवधि असार मसान्तभित्र सकिँदै छ तर काम जम्मा ३० प्रतिशतभन्दा कम मात्र सम्पन्न भएकालाई तेस्रो नम्बरमा राखिएको उनले बताए। लापरवाहीका विभिन्न वर्गमा परेका ५० जना ठेकेदारको नाम गृह मन्त्रालयमा कारबाहीका लागि सिफारिस गरेको उनले जानकारी दिए।

निर्धारित अवधिमा काम नगर्ने कालरात्रि मावि लापुको भवन निर्माण गर्ने ठेक्का लिएका ठेकेदारसँगको ठेक्का रद्द गरिएको प्रजिअले बताए। विकास निर्माणप्रति चासो दिँदै समयमै काम सम्पन्न गर्नेबारे छलफल गर्न बिहीबार जिल्लाका सबै निर्माण व्यवसायीलाई कार्यालयमा बोलाएर छलफल गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);