लुम्बिनीको हिउँदे अधिवेशन दाङमा बोलाउने तयारी, भवन निर्माण डेढ महिनामै सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लुम्बिनीको हिउँदे अधिवेशन दाङमा बोलाउने तयारी, भवन निर्माण डेढ महिनामै सकिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी  मंसिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ । लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको र आगामी मंसिरसम्म पूरा हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेले जानकारी दिए ।

प्राधिकरणले दुई चरणमा सक्ने गरी भवन निर्माणको काम अगाडि बढाएको हो । प्रदेशसभाको भवन लुम्बिनी प्रदेशको ऐतिहासिकता झल्किने गरी आधुनिक शैलीमा निर्माण भैरहेको छ । ५ करोड २२ लाखको लागतमा निर्माण हुन लागेको भवनमा ढुंगाको छाना, आँखी झ्याल जस्ता यस क्षेत्रका परम्परागत डिजाइनहरु समावेश गर्ने गरी काम भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताए ।

भवन निर्माणका लागि अहिले रातिमा समेत कामदार खटिएका छन् । भवन निर्माणका लागि २४ वैशाख २०७७ मा ठेक्का सम्झौता गरी निर्माणकाे काम सुरु भएकाे थियाे । ठेक्का सम्झौता अनुसार २०७८ साउनभित्रै भवन निर्माण गरी हस्तान्तरण गर्नुपर्ने छ ।

तर, सम्झौता अनुसार काम नभएपछि निर्माण कम्पनी परिवर्तन गरी अर्कोलाई ठेक्का दिइएको हो । सुरुमा भवन निर्माणका लागि ड्रागन जेभी बस्नेतलाई ठेक्का दिइएकोमा सम्झौता अनुसार काम नभएपछि अर्का निर्माण व्यवसायी यज्ञ केसीलाई निर्माणको जिम्मा दिइएको छ । 

प्रदेशसभाले हिउँदे अधिवेशन नयाँ भवनमै गर्ने गरी तयारी गरेको छ । वर्षे अधिवेशन सकिने र आगामी हिउँदै अधिवेशन दाङमा निर्मित नयाँ भवनमा गर्ने गरी तयारी गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । हाल प्रदेशको अस्थायी मुकाम बुटवलमा भाडाकाे घरमा प्रदेशसभा सञ्चालन भैरहेको छ । देउखुरीमा राप्ती प्राविधिक शिक्षालयको जग्गामा प्रदेशसभाको भवन निर्माण भैरहेको हो ।

प्रदेशसभा भवनका लागि आवश्यक पर्ने सबै संरचना १२ हजार स्क्वायर फिटमा तयार हुनेछन् । प्रदेशसभाको सभाहल भने ७ हजार स्क्वायर फुटमा तयार भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);