काठमाडौं, ७ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्ने विषयमा सरकार सहमत रहेको बताएका छन् ।
अध्यक्ष दाहालले मधेश केन्द्रित दलहरु सरकारमा आउने निर्णय भएलगत्तै संविधान संशोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुने बताए ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएलगत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमबाट मुलुकको विकास र समृद्धिको यात्रा सुनिश्चित भएको दावी गरे ।
उनले नीति तथा कार्यक्रम अनुसार बजेट आउने र त्यसले जनताको भावनालाई सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे । अध्यक्ष दाहालले सरकारको नीति तथा कार्यक्रममा संघीयतालाई सुदृढ बनाउने विषयलाई स्पष्टसँग उल्लेख गरिएको बताए ।