काठमाडौँ, १ भदौ । प्रधानमन्त्रीसहित २७ मन्त्रीले एक महिनाको तलबबापत १६ लाख ७५ हजार १ सय ९० रुपैयाँ बाढी प्रभावितलाई दिने निर्णय गरिसकेका छन् कर्मचारीले पनि एक दिनदेखि पाँच दिनसम्मको तलब बाढी प्रभावितलाई दिने निर्णय गरेका छन्।
गृहले पठायो ७ करोड १० लाख
गृह मन्त्रालयले बाढीपहिरो प्रभावित १८ वटा जिल्ला र क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा गरी बुधबार मात्रै ५ करोड १२ लाख रुपैयाँ पठाएको छ । बाढी प्रभावितलाई राहत तथा पुनस्र्थापनाका लागि सो रकम पठाइएको गृह मन्त्रालयका सहायक प्रवक्ता झम्क ढकालले जानकारी दिए। यसअघि गृहले ती जिल्लामा १ करोड ९८ लाख रुपैयाँ पठाएको थियो। बाढीपछि हालसम्म जिल्लामा जम्मा ७ करोड १० लाख पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ।
रकम संकलन हुन थाल्यो
बाढीपहिरोलगत्तै विभिन्न दाताबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुन थालेको छ । प्रधानमन्त्री कार्यालयका सहायक प्रवक्ता चिरञ्जीवी पौडेलले रकम जम्मा हुन थाले पनि त्यसको विवरण बिहीबारदेखि मात्रै लिइने बताए।
उनका अनुसार विभिन्न दातालाई कोषको नाममा विभिन्न १८ वटा बैंकमा रहेको खाता नम्बर दिइएको छ। केही दाताले ती बैंकको खाता नम्बर लिएर गएकाले खातामा रकम जम्मा हुने क्रम सुरु भएको पौडेलले बताए। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।




