प्रमुख तीन दल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्न सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रमुख तीन दल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्न सहमत

काठमाडौं, ३२ साउन । प्रमुख तीन दल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्न सहमत भएका छन् । बालुवाटारमा आज बेलुका बसेको प्रमुख तीन दलको बैठकले मंसिरको दोस्रो हप्ताभित्रमा दुवै निर्वाचन एकैपटक गर्ने निर्णय गरेको हो ।

 

निर्वाचनको मिति नतोकिएपनि दुवै निर्वाचन एकै पटक गर्ने सहमति भएको छ । यता निर्वाचन आयोगले भने दुवै निर्वाचन एकै पटक सम्पन्न गर्न कठिन हुने धारणा राखेको छ ।

 

निर्वाचनको प्राविधिक र कानुनी विषयमा आयोगसँग बिहीबार थप छलफल गरी निर्वाचनको मिति तोकिने आजको बैठकले निर्णय गरेको छ ।

 

प्रधानमन्त्रीले डाकेको बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

 

यसअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनको बारेमा छलफल गरेका थिए । प्रदेशसभा र प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ वा सकिँदैन भनी प्रधानमन्त्रीले आयोगका पदाधिकारी समक्ष चासो व्यक्त गरेका थिए।

 

सो छलफलमा निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई निर्वाचनको लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भई नसकेको अवस्थामा दुईवटै निर्वाचन एकै पटकमा सञ्चालन गर्न कठिनाइ हुने जानकारी गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);