सोमबारदेखि त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८२, बिहीबार

सोमबारदेखि त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा

tribhuwanintlairport

काठमाडौं, ७ जेठ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा संचालन गर्न सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सोमबार एक कार्यक्रमका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा संचालन गरिएको औपचारिक घोषणा गरेका छन् ।

विमानस्थलको काम कार्वाहीलाई व्यवस्थित र उडानलाई सुरक्षित बनाउन सोमबारदेखि विमानस्थललाई दैनिक २१ घण्टासम्म संचालन गर्न लागिएको मन्त्री अधिकारीले बताए ।

१८ घण्टा दैनिक संचालन हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि ३ घण्टा थप गरेर २१ घण्टा पु-याइएको हो । थप गरिएको समयले विमान उडान व्यवस्थापन थप सुदृढ हुने विमानस्थलको दावी छ ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सरकारले विमानस्थललाई व्यवस्थित बनाउन दैनिक २१ घण्टा संचालन गर्ने निर्णय लिएको स्पष्ट पारे ।

उनले सरकारका निर्णय पूर्ण पालना गर्न विमानस्थलका सम्पूर्ण कर्मचारीलाई कडा निर्देशन समेत दिए । सचिव देवकोटाले विमानस्थलको काम कार्वाही प्रभावकारी नभए सम्बन्धित कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिए ।

उनले सरकारको निर्णय अनुसार काम नगर्ने प्रवृति सरकारका लागि सैह्य नहुने भन्दै कर्मचारीहरुको ध्यानाकर्षण गराए । कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा नै संचालन गर्ने लक्ष्य लिएको बताएका छन् ।