खगेन्द्र घिमिरे
झापा, ३० बैशाख । सरकारले सडक आसपासका घर–नक्सा पासमा रोक लगाएपछि झापाको चाराआली–केचना सहायक राजमार्ग क्षेत्रका स्थानीय आन्दोलित भएका छन् । उता स्थानीय तहले भने कानुन बमोजिम नै घर–नक्सा पासमा रोक लगाएको दाबी गरेको छ ।
झापाको भद्रपुर नगरपालिकाको १, २ र ३ नम्बर वडाका स्थानीय आन्दोलित भएका हुन् । भद्रपुर नगरपालिका कार्यालयले घर–नक्सा पासमा रोक लगाएपछि उनीहरु समिति नै गठन गरेर आन्दोलित भएका हुन् ।
चाराआली–केचना सडक निर्माणको क्रममा सडकदेखि दायाँबायाँ १५÷१५ मिटर सडक खाली गर्नुपर्ने भएकाले नगरपालिकाले घर–नक्सा पासमा रोक लगाएको हो । ४ सय ५० घरपरिवार विस्तापित हुन लागेको भन्दै उनीहरुले क्षतिपूर्तिको माग गरेका छन् ।
यता भद्रपुर नगरपालिकाले कानुन बमोजिम घर नक्सा पासमा रोक लगाएको र पीडितलाई क्षतिपूर्ति दिने प्रतिक्रिया दिएको छ । समितिले क्षतिपूर्तिको माग गर्दै नगरपालिका, प्रदेश सरकार र प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।