एजेन्सी, २७ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्स चौंथो स्थानमा उक्लिएको छ । कोलकत्ता नाइट राइडर्सलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै मुम्बई इण्डियन्स चौंथो स्थानमा उक्लिएको हो ।
गएराति कोलकत्तामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो । उसका लागि इसन किसनले विष्फोटक ब्याटिङ गरी २१ बलमा ६२ रनको पारी खेले । कप्तान रोहित शर्मा र सुर्यकुमार यादवले समान ३६ रन बनाएकामा बेन कटिङले ९ बलमा २४ रन जोडे । कुलदिप यादव र पियुष चावला निकै महङ्गा सावित भए ।
२ सय ११ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको कोलकत्ता नाइटराइडर्स १८ दशमलव १ ओभरमा १ सय ८ रनमा सीमित भयो । उसका लागि नितिश राना र क्रिस लिनले सर्वाधिक २१-२१ रन बनाए भने पाँच खेलाडीले दोहोरो रन नै बनाउन सकेनन् । कोलकत्तालाई सस्तोमा समेट्न क्रुनाल पाण्ड्या र हार्दिक पाण्ड्याले कसिलो बलिङ गर्दै २-२ विकेट लिए । हारपछि कोलकत्ता पाँचौं स्थानमा ओर्लिएको छ ।
आईपीएलमा आज शीर्ष स्थानको सनराइजर्स हैदरावाद र अन्तिममा रहेको दिल्ली डेयरडेभिल्सबीच खेल हुने छ ।