काठमाडौं, २७ बैशाख । साढे ३३ किलो सुन तथा सनम हत्या काण्डका आरोपीविरुद्ध जिल्ला आदालत मोरङमा आजदेखि थुनछेक बहस हुने भएको छ ।
बहसका लागि प्रतिवादीको तर्फबाट हालसम्म ४४ जना कानून व्यावसायीले वकालतनामा दर्ता गराएको अदालतको मुद्दा शाखाले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तको बयान जिल्ला अदालतले रेकर्ड गरिसकेको छ । अभियुक्त धेरै भएकोले निरन्तररुपमा बहस चल्दापनि बहस सकिन एक साताभन्दा बढी समय लाग्ने कानुन व्यवसायीको अनुमान छ ।
सुन काण्ड र सनम हत्या प्रकरणमा बहालवाला वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, डिएसपी प्रजित केजी, डिएसपी संजय राउत र पूर्वडिआईजी गोविन्द निरौला मुछिएकाले यो मुद्दालाई निकै चासो साथ हेरिएको छ ।