काठमाडौं, १७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर प्रदेश नम्बर २ का जिल्लामा सरसफाइ अभियान तीव्र पारिएको छ ।
राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधिमात्रै नभएर विद्यालयले समेत सरसफाइका लागि विद्यार्थीलाई सडकमा उतारेका छन् । जनकपुरमा निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरुले सरसफाई गरेका छन् । विद्यार्थीहरुले जनकचोक, जानकी चोक, राम चोक, शिव चोकलगायतका स्थानमा सरसफाई गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार बुधबार बिहान आएको हावाहुरीका कारण जनकपुरमा ढलेका छन् ।
मोेदीको स्वागतका लागि बनाइएको स्टेजमा पनि हावाहुरीका कारण क्षति पुगेको छ । रंगभूमि मैदान बाह्रबिग्हामा पानी जमेको छ । जानकी मन्दिर, अस्पतालरोड, बाह्रबिग्हाको मूल ढोका र रामानन्दचोकमा ढलेका स्वागतद्वार तथा प्रवेशद्वार उठाउने र मर्मत गर्ने काम भइरहेको छ ।