'स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगबाट न्याय सम्पादन गर्न आग्रह' | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

‘स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगबाट न्याय सम्पादन गर्न आग्रह’

काठमाडौं २६ वैशाख । कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशीले स्वतन्त्र न्यायपालिकाको मूल्य, मान्यतामा कँहीकतैबाट पनि आँच आउन नदिने अवस्थाको सुनिश्चितता जरुरी रहेको बताएका छन् ।

कानुन दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले संविधान, कानुन र न्यायका मान्य सिद्धान्तका आधारमा न्याय सम्पादन गर्ने पनि स्पष्ट पारे ।

राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा आयोजित चियापान समारोहमा कायममुकायम प्रधानन्यायाधिश जोशीले कुनै किसिमको प्रभावमा नपरी स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगबाट न्याय सम्पादन गर्न मातहतका निकायलाई समेत सचेत गराए । उनले राज्यका अन्य निकायले गर्ने प्रकृतिको कार्य वा नतिजाको अपेक्षा न्यायपालिकाबाट नगर्न पनि सबैमा आग्रह गरे ।

कायममुकायम प्रधानन्यायाधिश जोशीले संविधानले सुम्पेको जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन गर्न न्यायपालिकाले विभिन्न प्रयासहरु गर्दै आएको बताए ।

उनले आम नागरिकले न्यायपालिकाप्रति राखेको अपेक्षालाई यथोचित सम्बोधन गर्नेतर्फ न्यायपालिकाका समग्र प्रयास केन्द्रित रहेको दावी गरे । कायममुकायम प्रधानन्यायाधिश जोशीले सेवाग्राहीहरुको सुविधालाई लक्षित गरी अदालतहरुमा विभिन्न सेवा, सुविधा र सहयोगको कार्यहरु थालनी गरिएको उल्लेख गरे ।

उनले न्यायमा सहज पहुँचका लागि आवश्यक जनशक्तिको अभाव रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । कायममुकायम प्रधानन्यायाधिश जोशीले छिटो, छरितोसँग न्याय सम्पादन गर्न संस्थागत प्रयास गरिएको बताए ।

चियापान समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, सर्वोच्च अदालतका न्यायाधिशहरु, वरिष्ठ अधिवक्ताहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुसहितको उल्लेख्य सहभागिता रहेको थियो । समारोहमा राष्ट्रपति भण्डारीले पूर्व प्रधानन्यायाधिशहरुलाई सम्मान गरेकी थिइन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);