चितवन, २२ वैशाख । कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले किसानको वर्गिकरण गरेर कृषि अनुदान दिने नीति ल्याउने बताएका छन् ।
शनिबार चितवनमा आयोजित कार्यक्रमा बोल्दै मन्त्री खनालले निर्वाहमुखी र व्यवसायीक कृषि गर्ने किसानलाई फरक–फरक अनुदानको व्यवस्था गरिने बताए । कृषिको स्तर माथि उठाउन भूमी किसान बैंक स्थापना गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले वर्षेनी भारतबाट केरा आयात हुँदै आईरहेको भन्दै नेपालमा क्षेत्र विस्तार गरी उत्पादन बढाउनुपर्ने बताए ।
चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तले केराखेतीलाई आत्मनिर्भर बनाउन हालको कृषि व्याजलाई ४ प्रतिशतमा झार्नुपर्ने, केरामा लाग्ने भन्सार दरलाई बढाउनु पर्ने, क्वारेनटायन चेकजाँचमा कडाई गर्नुपर्ने लगायतका माग राखेका छन् ।