बढ्दै डढेलोका घटना | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

बढ्दै डढेलोका घटना

fire

काठमाडौँ, २१ बैशाख । डढेलोका कारण यो सिजनमा चार जनाको ज्यान गएको छ । फागुनदेखि वैशाख दोस्रो सातासम्म डढेलोबाट सल्किएको आगोले ११ घर जलेका छन् भने पाँचवटा गोठमा क्षति पुगेको छ ।

फागुनदेखि जेठसम्म डढेलो लाग्ने समय हो । यो अवधिमा वेगले हावा चल्ने भएकाले आगोको सानो भिल्कोले पनि ठूलो रूप लिने सम्भावना बढी हुन्छ । बर्सेनि मुलुकभर डढेलोको समस्या थपिँदै गएको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका अध्यक्षसमेत रहेका नुवाकोटका भूसंरक्षण अधिकृत सुन्दरप्रसाद शर्मा बताउँछन् । उनका अनुसार वैशाख १३ मा एक हजार दुई सय ४७ ठाउँमा डढेलो लागेको थियो । ‘डढेलो गत वर्ष पनि थियो तर मानवीय क्षति भएको थिएन,’ उनले भने, ‘यो वर्ष डढेलो धेरै लाग्यो, मानवीय क्षति पनि भएको छ ।’

डढेलोमा परेर पूर्वी रुकुममा दुई, धनकुटा र तनहुँमा एक एक जनाको ज्यान गएको छ । २०७२ /७३ मा डढेलो नियन्त्रण गर्ने क्रममा १० जनाको ज्यान जानुका साथै १० जना सख्त घाइते भएका थिए । अहिलेसम्म डढेलोबाट आव २०७२ /७३ मा बढी वन नोक्सान भएको विभागको तथ्यांक छ । त्यस वर्ष चार लाख हेक्टर वनक्षेत्र डढेलोले नष्ट गरेको थियो ।

आव २०६६ /६७ मा डढेलोमा परेर ४९ जनाको ज्यान गएको थियो भने नौ जना घाइते भएका थिए । त्यही वर्ष डढेलो नियन्त्रण गर्ने क्रममा रामेछापमा १३ जना सैनिकको ज्यान गएको थियो । शर्माका अनुसार ६४ प्रतिशत डढेलो जानीजानी र ३२ प्रतिशत दुर्घटनावश लाग्ने गरेको छ । जंगल आसपासका बासिन्दाले रूखबिरुवामा नयाँ पालुवा पलाउने र च्याउ फल्ने लोभमा डढेलो लगाउने गरेका छन् भने चोरीसिकारले वन्यजन्तुलाई धरापमा पार्न र चोरी कटानी गर्न आगो लगाउने गरेको पाइएको छ । विभागको तथ्यांकअनुसार २०६६ वैशाख १२ मा तीन सय ५८, २०६५ वैशाख १३ मा एक सय ५५, २०६७ वैशाख १३ मा ८४, २०६८ वैशाख ९ मा एक सय ६७, २०६९ चैत ३० मा एक सय, त्यही वर्ष वैशाख १२ मा एक सय ८२ र २०७१ वैशाख ११ मा एक सय ७९ ठाउँमा डढेलो लागेको थियो । राष्ट्रिय र सामुदायिक वनमा डढेलोले विकराल रूप लिन थाले पनि हामीकहाँ निभाउने प्रविधिको विकास भएको छैन । वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य आवश्यक जनशक्ति, स्रोत साधन र तालिम अभावले बेलैमा डढेलो नियन्त्रण गर्न नसकिएको बताउँछन् ।

डढेलोले बर्सेनि वन नष्ट गर्दा मूल्यवान रूख, वन्यजन्तु र जैविक विविधतामा समेत असर पर्ने गरेको छ । डढेलो नियन्त्रणका लागि वन मन्त्रालयले २०६७ मा तयार गरेको रणनीतिसमेत प्रभावकारी कार्यान्वयन हुन नसकेको शर्माको अनुभव छ । ‘रणनीति बन्यो तर प्रभावकारी कार्यान्वयन हुन सकेन, उनले भने, ‘डढेलो नियन्त्रण गर्ने संरचना तयार नै नहुनु दुस्खद हो । डढेलो नियन्त्रण गर्नु हरेकको दायित्व हो भन्ने बुझाइ विकास हुनुपर्‍यो ।’आजको कान्तिपुरमा खवर छ ।