बाराको जितपुर सिमराका दलित समुदाय र जनप्रतिनिधिबीच विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बाराको जितपुर सिमराका दलित समुदाय र जनप्रतिनिधिबीच विवाद

श्याम गुप्ता
बारा, १९ वैशाख । बारा जितपुर सिमराका दलित समुदाय र जनप्रतिनिधिबीच विवाद बढेको छ । जितपुर सिमरा उपमहानगरपालिका १० स्थित नितनपुर टोलका दलित समुदायले वडाध्यक्ष सहितका केही व्यक्तिले आफूहरुलाई घरबारविहीन बनाउन खोजेको आरोप लगाएका छन् ।

तर, वडाअध्यक्षले भने मदिरामुक्त नगर बनाउने आफ्नो अभियानबाट रिसाएकाहरुले यस्तो आरोप लगाएको बताएका छन् ।

जितपुरसिमरा उपमहानगर १० नितनपुर टोलका दलित समुदायले आफुहरुलाई वडा अध्यक्ष सरोजकुमार राउत सहितका व्यक्तिले घरखाली गर्न धम्की दिइरहेको आरोप लगाएका छन् ।

उनीहरु सिरसीया नदीको छेउछाउका ऐलानी जग्गामा घर बनाएर बस्दै आएका छन् । सार्वजनिक जग्गामा बसेकाले आफूहरुलाई उपमहानगरले हटाउन वा बैकल्पिक स्थानमा जान दबाब दिइरहेको दलित समुदायले जनाएको छ ।

दुख गरी बनाएको घर आफैंले भोट हालेर जिताएका जनप्रतिनिधिले भत्काउन दबाब दिन थालेको भन्दै दलित समुदाय आक्रोशित बनेका छन् ।

यता, वडा अध्यक्ष राउतले भने आफूमाथिको आरोपको खण्डन गरेका छन् । नितनपुरटोलमा केही व्यक्ति सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका र उनीहरुले नै अनाधिकृत रुपमा मदिरा विक्री वितरण गरिरहेकाले उपमहानगरको योजना अनुसार नै त्यसलाई रोक्ने प्रयास गरेको उनको भनाइ छ ।

उनले जनतासँग गरेको प्रतिबद्धता अनुसार नै आफूहरु चलिरहेको दाबी गरे । करिब ५० घर दलित परिवार रहेको यस गाँउमा निर्वाचित जनप्रतिनिधी आए पनि आफूहरुको समस्या ज्यूँका त्यूँ रहेको उनीहरुको गुनासो छ ।

निर्वाचनका बेला वर्षेनी आइपर्ने बाढीको समस्या समाधान गर्न ड्याम बनाउने, खानेपानी सुविधाको व्यवस्था गर्ने र स्वरोजगार बनाउन बिभिन्न सीप मूलक तालिम ल्याउने आश्वासन दिएका जनप्रतिनिधिले जितेपछि प्रतिबद्धताभन्दा ठीक उल्टो काम गर्दै हिँडेको स्थानीयको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);