सीके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित छन्ः उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सीके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित छन्ः उपेन्द्र यादव

बारा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको चरित्र आपराधिक प्रवित्तिको भएको र उनी देश बाहिरको शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन् ।

बारा २ को प्रतिनिधिसभा सदस्यका सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले सीके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित पात्र भएकोले जसपाविरुद्ध भ्रमको खेती गरेर मधेशलाई कमजोर बताउन चाहेको आरोप लगाएका हुन् ।

सोमबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा चुनावी घरदैलोका क्रममा सन्चारकर्मीसँग कुरा गर्दै यादवले भने, ‘सीके राउत को हुन ? कहाँबाट परिचालित छन् ? के का लागि परिचालित छन् ? भन्ने कुरा रहस्यमयी छ, यस बारे धेरै कुरा खोज्नुपर्छ र बिस्तारै खुल्दै जानेछ ।’

देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने राष्ट्रघाती र देशद्रोही बनेर राउतले राजनीतिक यात्रा शुरु गरेको स्मरण गराउदै यादवले अहिलेपनि राउतको बोली र व्यवहार दुवै राष्ट्रघाती, देशद्रोही र आपराधिक चरित्रको नै भएको टिप्पणी गरे । मधेसलाई नेपालबाट टुक्राउने नारा छाडेर मूलधारको राजनीतिमा सिके राउत आइसकेका छन् नि त भन्ने प्रश्नमा यादवले भने, ‘सीके राउत अहिले पनि राष्ट्रघाती र देशद्रोही नै हुन्, किनकि उनको व्यवहार र गतिविधि अहिले पनि हिजोको राष्ट्रघाती जस्तै छ ।’

राजनीतिक एजेंडाबिहीन राउतले सिद्धान्तहीन, विचारहीन, आदर्शहीन र चरित्रहीन तथा आपराधिक मनोवृति भएकाहरुले मधेसमा जातीवादको विष घोलेर समाजलाई कमजोर बनाएर फेरि मधेसीलाई गुलाम बनाउने षडयन्त्रमा लागेको अध्यक्ष यादवको आरोप छ ।

बारा २ मा उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने आरोपको खण्डन गर्दै यादवले भने, ‘आफनै देशको नागरिक आफनै देशमा बाहिरिया हुन्छ कि अमेरिकी नागरिक (सिके राउत) ले लिएर आएको भाड़ाको उम्मेदवार बाहिरिया हुन्छ ? यसको जवाफ बैशाख १० मा बारा २ का जनताले दिनेछन् ।’

बारा २ को जनताले देखाएको समर्थन र मायाले आफनो जीत सुनिश्चित भइसकेको दाबी गर्दै यादवले भने, ‘मतान्तर अझ धेरै बढाउनका लागि हामी जनताको घरदैलोमा पुगिरहेका छौ ।’

मधेसका दलित र उत्पीडि़त समुदायले पाएका अधिकार मधेस आन्दोलनकै उपलब्धी भएको जिकीर गर्दै यादवले भने, ‘दलित समुदायले अझै धेरै अधिकार पाउन बाँकी छ। शिक्षा, स्वास्थ्य, रोजगार र आवास दलितका मुख्य आवश्यकता हुन्, यसलाइ राज्यले सम्बोधन गर्नैपर्छ ।’

सोमबारको घरदैलो कार्यक्रममा यादवसंगै नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरी , कांग्रेस केन्द्रिय सदस्य अजय चौरसिया, कांग्रेसका जिल्ला सभापति राजेशराय यादव, महागढी नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव लगायतका नेताको सक्रिय सहभागिता थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);