जिल्ला अस्पताल सिरहामा टर्च बालेर बिरामीको उपचार | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

जिल्ला अस्पताल सिरहामा टर्च बालेर बिरामीको उपचार

hospital

सिरहा, १९ बैशाख । मुलुकका अधिकांस जिल्ला अस्पतालहरुको अवस्था निकै नाजुक छ । कतै दरबन्दीभन्दा निकै कम डाक्टर कार्यरत छन् भने कतै डाक्टर भए पनि आवश्यक उपकरण छैनन् । कतिपय जिल्ला अस्पतालमा ’एक्स रे मेसिन’ समेत नभएर बिरामीहरु ‘अन्तै’ जानुपर्ने बाध्यात्मक अवस्था छ । सिरहाको जिल्ला अस्पतालको हालत पनि त्यस्तै छ ।

हेर्दा र सुन्दा पनि अचम्म लाग्न सक्छ । जिल्ला अस्पताल सिरहामा विरामी उपचार अँध्यारोमै गरिन्छ । जिल्ला सदरमुकाम र सिरहा नगरपालिकाको मुख्य बजारमै रहेको अस्पतालमा बैकल्पिक विद्युतको व्यवस्था नहुँदा लोडसेडिङका समयमा स्वास्थ्यकर्मीले अँध्यारोमै विरामीको उपचार गर्ने गरेका छन् । यो अस्पतालमा ५० सैया रहेको छ ।

मंगलवार राति जिल्ला अस्पताल सिरहाको आकस्मिक कक्षमा झाडापखालाका ४, सर्पले टोकेको १ र नाकबाट रगत आएका एकजना गरी ६ जना विरामीले अँध्यारोमै उपचार गराए । विद्युत काटिने बित्तिक्कै अस्पताल अन्धकार हुन्छ । आकस्मिक कक्षमासमेत चिकित्सकहरुले टर्चलाईट, एमरजेन्सी लाईट र मोबाईलको बत्ति बालेर उपचार गर्छन् ।

अस्पतालमा वैकल्पिक विद्युतको अभाव हुँदा चिकित्सकले कतिपय अवस्थामा उपचार गर्न नसकिने भन्दै विरामीलाई फर्काउने गरेका छन् । विद्युत नहुँदा उपचार गर्न अप्ठ्यारो र जोमिपूर्ण हुने गरेको चिकित्सक सतिश कुमार दास बताउनुहुन्छ ।

स्वास्थ्यसंस्थामा भइरहेको यो लापर्बाहीप्रति स्थानीय सरकार भने मुकदर्शक बनेको छ । सम्बन्धित अन्य निकायको समेत मौनताले विरामी भने थप समस्यामा परेका छन् । सुरेन्द्र कुमार कामति, सिरहा ।

ताजा समाचार