काठमाडौं, १५ बैशाख । मानिसले आफ्नो दैनिक कार्यतालिका मोबाइलबाटै निर्धारण गर्छ । दूरदराजको काम तत्काल मोबाइल फोनकै भरमा गर्न सक्छ । अर्थात् मोबाइलले मानिसको आधा क्षमताको विकास र समय बचत गरेको हुन्छ । त्यसैले, अहिले मोबाइलविनाको जीवन कसरी सम्भव होला भन्ने बहस सुरु भएको छ । त्यसो भए, मोबाइल नबोक्दा दैनिक कार्यतालिका चल्न सम्भव नै छैन त ? धेरैलाई लाग्छ, मोबाइल नबोक्नु वा नचलाउनु आफैँलाई दुःख दिनु हो । यस्तो अवस्थामा पनि समाजका केही नागरिक अगुवाको दैनिकी मोबाइलविना नै चलिरहेको छ । मोबाइलविना पनि नियमित र समयबद्ध दैनिक कार्यतालिका सञ्चालन सम्भव छ भन्ने उनीहरूको जीवन पद्धतिले देखाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा चारपटकसम्म प्रधानमन्त्री भइसकेका छन् । उनी पहिलोपटक प्रधानमन्त्री भएका वेला नेपालमा सूचना, सञ्चार तथा प्रविधिको विकास भएको हो । तर, देउवा आफैँ भने निजी मोबाइल फोन प्रयोग गर्दैनन् । मोबाइल नबोके पनि उनले स्वकीय सचिव भानु देउवाको मोबाइलबाट कुराकानी गर्ने गरेका छन् । कांग्रेस सभापति देउवासँग कुराकानी गर्नुपर्ने भए वा भेटघाटका लागि समय मिलाउनुपरेमा भानु देउवाको मोबाइल टिपाउने गर्छन् । कतिपय अवस्थामा देउवाले श्रीमती आरजु राणा देउवाको मोबाइलबाट पनि कुराकानी गर्दै आएका छन् । देउवाको आफ्नै मोबाइल भने नरहेको उनका स्वकीय सचिव भानु देउवा बताउँछन् ।
डा. सुन्दरमणि दीक्षित, नागरिक अगुवा
डा. सुन्दरमणि दीक्षित अधिकारकर्मीका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ पनि हुन् । पेसागत धर्म र नागरिक अगुवाइको नेतृत्वकर्ताको हैसियतले पनि उनी निरन्तर सम्पर्कमा रहनुपर्ने मानिस हुन् ।सबैसँग सहज सम्बन्धका लागि दीक्षितले मोबाइल बोक्नुपर्ने हो । तर, उनले अहिलेसम्म मोबाइलविनै आफ्नो दैनिकी चलाउँदै आएका छन् । बिरामीलाई चिकित्सकीय सेवा प्रदान गर्न उनी निजी निवास र अफिसको फोन प्रयोग गर्छन् । समयप्रति निकै सचेत रहने दीक्षितले ल्यान्डलाइनबाटै सबै कार्यक्रमको तालिका तय गर्दै आएका छन्।
सत्यमोहन जोशी संस्कृतिविद् हुन् । उमेरले झन्डै शताब्दी टेक्न लागेका जोशी पछिल्लो पुस्ताको आकर्षण रहेको मोबाइलमा त्यति धेरै चासो राख्दैनन् । मोबाइलबाट उत्पन्न खराबी वा समस्याका कारण उनले मोबाइल नबोकेका भने होइनन् । अहिलेसम्म आफूले मोबाइलको आवश्यकता नै महसुुस नगरेको उनी बताउँछन् ।
यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।