काठमाडौँ, १४ बैशाख । हलबाट नउत्रिँदै फिल्म ‘शत्रु गते’ छैटौं एनएफडीसी नेसनल फिल्म अवार्डमा सर्वोत्कृष्ट घोषणा गरियो । ‘उत्कृष्ट फिल्म’ अवार्ड पाएको यही फिल्मका लागि मित्र डी. गुरुङले सर्वोत्कृष्ट सम्पादक, दीपकराज गिरी र प्रदीप भट्टराईले सर्वोत्कृष्ट लेखन तथा कथा र संवाद र अमित श्रेष्ठले ध्वनि पुन मुद्रणको ट्रफी पाए ।
उत्कृष्ट निर्देशक विधामा ‘लिलीबिली’ बाट मिलन चाम्सले अवार्ड जितिरहँदा अनमोल केसी उत्कृष्ट अभिनेता र बेनिशा हमाललाई उत्कृष्ट अभिनेत्री चुनियो । मह जुरी अवार्ड भने फिल्म ‘भुइँमान्छे’ लाई दिइयो । उत्कृष्ट गायनमा ‘ऐश्वर्य’ फिल्मको ‘तिमी रोएको पल’ का लागि अञ्जु पन्त र सुगम पोखरेल सुरिला मानिए । उत्कृष्ट संगीतकारमा राजनराज शिवाकोटीको नाम आउँदा गीतकारतिर भने डा. कृष्णहरि बरालले ‘कसम हो कसम’ मार्फत अरूलाई पछि पारे ।
युट्युबमा प्रशस्त भ्युज कमाएको ‘कुटुमा कुटु’ गीतका कोरियोग्राफर कविराज गहतराज उत्कृष्ट नृत्य निर्देशक चुनिए । बेस्ट ब्याकग्राउन्ड स्कोर विधामा ‘लिलीबिली’ का लागि एलिस कार्कीले अवार्ड थापे । २०७४ मा सबैभन्दा धेरै चलेको भएर ‘छक्का पञ्चा २’ लाई सर्वोत्कृष्ट व्यावसायिक फिल्मको ट्रफी दिइयो ।
‘कृ’ फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तले आफ्नो कामको जस पाइरहँदा ‘लिलीबिली’ खिचेका सुदीप बराल सर्वोत्कृष्ट छायाकार घोषित भए । हास्य कलाकारमा ‘छक्का पञ्जा २’ बाटै केदार घिमिरे ‘माग्नेबूढा’ बेस्ट मानिए । नवअभिनेता तथा अभिनेत्रीमध्ये आशिरमान देसराज जोशी र जसिता गुरुङको काम अब्बल ठहरियो । सह–अभिनेत्रीमा ‘ऐश्वर्य’ फिल्मबाट केकी अधिकारी र यसकै प्रशान्त ताम्राकार सर्वोत्कृष्ट सहअभिनेता चुनिए ।
कान्तिपुरकर्मी फूलमान वललाई ‘पुष्कर बेस्ट फिल्म जर्नालिस्ट अवार्ड’ प्रदान गरियो । कसैको कामको मूल्यांकन गर्नुभन्दा पनि फिल्मकर्मीलाई उत्प्रेरणा जगाउन अवार्ड दिइएको नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी) का प्रबन्ध निर्देशक निरक पौडेलले बताए । अवार्डको जुरीमा अभिनेत्री चैत्यदेवी, संगीतकार शुभबहादुर सुनाम, साउन्ड इन्जिनियर प्रदीप कुमार उपाध्यायलगायत थिए । कान्तिपुरबाट




