काठमाडौं, १२ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले हरित अर्थतन्त्रको माध्यमबाट सरकारले गरिवी निवारणमा जोड दिने बताएका छन् ।
अर्थमन्त्री खतिवडाले कृषि उत्पादन बढाउन र जलवायू परिवर्तनको असरलाई न्यूनिकरण गर्न पनि नेपाललाई हरियाली बनाउने अभियानलाई सरकारले उच्च प्राथमिकता दिने बताए ।
बुधबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाललाई हरियाली बनाऊ’ अनुगमन सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा रहेका सबै स्रोत, साधनलाई हरित राष्ट्र निर्माणको लागि परिचालन गर्न पनि सरोकारवाला निकायसँग आग्रह गरे । मन्त्री खतिवडाले मुलुकमा रोजगारीको अवसर सृजना गर्न हरियाली अभियानले महत्वपूर्ण योगदान दिने बताए ।
कार्यक्रममा विज्ञहरुले नेपाललाई समृद्ध बनाउन हरियाली बनाउ अभियानले महत्वपूर्ण योगदान दिने उल्लेख गरेका थिए । भोलीसम्म चल्ने सम्मेलनमा करिव १२ सय जना सहभागी रहेका छन् ।