काठमाडौं, १२ बैशाख । बालिका बलात्कार गरेको मुद्दामा भारतीय धर्मगुरु आशाराम बापू दोषी ठहर भएका छन् । उत्तरी भारतको जोधपुरस्थित विशेष अदालतले आशारामलाई १६ वर्षीया बालिकाको बलात्कारमा दोषी ठहर गरेको हो ।
सतहत्तर वर्षीय आशारामलाई अर्की महिलालाई पनि बलात्कार गरेको आरोप लागेको छ र सो मुद्दाको अलग्गै सुनुवाइ भइरहेको छ । धार्मिक प्रवचन दिने आशारामले १९ वटा देशमा ४०० वटा आश्रम बनाएका छन् ।
विश्वभरि आफ्ना चार करोड भक्त रहेको उनको दाबी छ । अदालतमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशङ्का गर्दै न्यायाधीशले लगभग पाँच वर्षदेखि आशारामलाई बन्दी अवस्थामा राखिएको एउटा जेलमा उक्त फैसला सुनाएका थिए ।
एक सुरक्षा कारबाहीपछि सन् २०१३ मा उनलाई गिरफ्तार गरिएको थियो । सजायबारे अहिले जोधपुर अदालतमा सुनुवाई भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।