एजेन्सी, ११ बैशाख । आईपीएल क्रिकेटमा नेपाली खेलाडी सन्दिप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स आफ्नै घरेलु मैदानमा पनि पराजित भएको छ । सन्दिपलाई अघिल्ला खेलमा जस्तै बेञ्चमा राखिएको दिन दिल्ली किंग्स इलाभेन पञ्जाबसँग ४ रनले पराजित भएको हो ।
किंग्स इलाभेन पञ्जाबले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनायो । श्रेयस आयरले ५७, राहुल टेवाटियाले २४ र पृथ्वी पंकज शावले २२ रन जोडे पनि कप्तान गौतम गम्भिर सहितका चार खेलाडी दोहोरो रन नजोडी पेभेलियन फर्किएका कारण दिल्लीले सामान्य लक्ष्य पनि पूरा नगरी पराजय व्यहोरेको हो ।
६ खेलमा दिल्लीको यो पाँचौं पराजय हो । टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलाभेन पञ्जाब भने ६ खेलमा पाँच जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।
प्रतियोगितामा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल हुने छ ।