चितवन, ९ बैशाख । चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०७४÷०७५ को चैत मसान्तसम्म झण्डै १९ करोड राजस्व सङ्कलन गरेको छ । निकुञ्जमा घुम्न आउने पर्यटक र आन्तरिक श्रोतबाट १८ करोड ६० राजस्व सङ्कलन गरेको हो ।
निकुञ्जले ‘क’ र ‘ख’ श्रेणीमा विभाजन गरी राजस्व सङ्कलन गर्दै आएको छ । ‘क’ श्रेणी अन्तर्गत प्रवेश शुल्कबाट १२ करोड ८५ लाख ७१ हजार रुपैयाँ सङ्कलन गरेको छ । सवारी शुल्क, जङ्गल सफारीबाट २ करोड ३४ लाख ८० हजार, सुविधायुक्त बाटो प्रयोग गरेबापत १४ लाख ४६ हजार, घाट ठेक्काबाट २७ लाख ९९ हजार ५ सय राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै ढुङ्गा, गिटी, बालुवा उपभोक्तालाई दिए बापत ७४ लाख ८३ हजार, वनपैदावारबाट ७० हजार, हात्ती भाडा बापत ४ हजार ७ सय र अन्य ३ लाख ४० हजार रुपैयाँ सङ्कलन गरेको छ ।
‘ख’ श्रेणी अन्तर्गत बोलपत्र फारामबाट ३ लाख ५७ हजार, न्यायिक दण्ड तथा जरिवानाबाट २० लाख ५९ हजार, बेरुजु ३ लाख २४ हजार र मूल्य अभिवृद्धि कर बापत १ करोड ९० लाख ६० हजार राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सहायक वन संरक्षण अधिकृत नुरेन्द्र अर्यालले चालु आर्थिक वर्षको अन्त्यसम्ममा गतवर्षको भन्दा धेरै राजस्व सङ्कलन हुने बताए । गत आर्थिक वर्षमा निकुञ्जले २२ करोड ५१ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।




