सुरेन्द्र भण्डारी, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो झापा । यो जिल्लालाई सुगम जिल्लाका रुपमा चिनिन्छ । १८ वटा सामुदायिक विद्यालय र तीन दर्जनको हाराहारीमा निजी विद्यालय रहेको बिर्तामोड नगरपालिकालाई जिल्लाको शैक्षिक ‘हव’कै रुपमा लिइन्छ ।
तर, यही नगरमा यस्ता विद्यालय पनि छन्, जहाँ लक्षित समुदायका बालबालिकामात्र अध्ययन गर्छन् भने झण्डै ४ प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् ।
विर्तामोड नगरपालिकाभित्रै पर्छ, अनारमुनी आधारभूत विद्यालय । नगरपालिकाको कार्यालयबाट करिब एक किलोमिटर पूर्व उत्तर र पूर्वपश्चिम राजमार्गको मुक्तिचोकबाट पनि एक किलोमिटर पूर्वदक्षिण बिर्तामोड नगरपालिका–४ घण्टीवारीमा छ यो विद्यालय ।
जहाँ कोच आदिवासी, मुस्लिम, सिमान्तकृत र सुकुम्वासी टोलका मात्र वालवालिका अध्ययन गर्ने गर्दछन् । २०६९ सालमा स्थापना भएको यो विद्यालयमा १ सय ६९ जना विद्यार्थी भर्ना भएपनि मुस्किलले आधा विद्यार्थीमात्रै नियमित विद्यालय आउने गरेका छन् ।
बिर्तामोड नगरपालिका– ६ का अध्यक्ष सूर्य कन्दङ्वाले सुगम नगरको रुपमा चिनिएको बिर्तामोडमा यस्तो पनि विद्यालय छ भनेर धेरैलाई थाहा नभएको बताउँछन् ।
‘हामी सबैको इच्छा, निःशुल्क आधारभूत शिक्षा’भन्ने मूल नाराका साथ सरकारले यो वर्षपनि निःशुल्क विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । तर, दुई वर्ष अघि नै साक्षर जिल्ला घोषणा भएको झापामा अझैं पनि विद्यालय जाने उमेर समूहका ३ दशमलव ७ प्रतिशत वालवाललिका विद्यालय वाहिरै छन् ।
उनीहरुलाई पनि सहजरुपमा विद्यालयको पहुँचमा ल्याएर गुणस्तरीय शिक्षा प्रदान गर्न सके मात्र सरकारले सञ्चालन गरेको निःशुल्क विद्यार्थी भर्ना अभियान प्रभावकारी हुने देखिन्छ ।




