ओखलढुंगा, ८ बैशाख । ओखलढुंगा र सोलुखुम्बुको सिमानामा रहेको पत्ताले पर्यटकिय क्षेत्र बन्दै गएको छ । छोटो दूरीमै सगरमाथालाई सिधा आँखाले हेर्ने एक मात्र सहज गन्तव्य रहेकोले पनि पत्ताले पर्यटकीय स्थल बन्दै गएको हो ।
सोलुखुम्बु –ओखलढुंगा सडकखण्डमा पर्ने पत्ताले पुग्न काठमाडौँ देखि करिव २ सय ५० किलोमिटर पार गर्नुपर्छ । यस्तै तराई क्षेत्रबाट पनि उदयपुरको कटारी हुदै घुर्मी ओखलढुंगा हुदै जान सकिन्छ ।
सगरमाथा सहित हिमालय क्षेत्रको अवलोकनका लागि विदेशी पर्यटकहरु खुम्बु नै पुगे पनि महंगो यात्राका कारण नेपाली आन्तरिक पर्यटकहरु जहाज चढेर खुम्बु नै पुग्न सकिरहेका छैनन । त्यसो त सगरमाथा अवलोकन गर्न पत्ताले क्षेत्र नेपालीको आकर्षक गन्तब्य हो । निलो आकाश खुलेपछि पत्तालेबाट सगरमाथा, अमादाब्लम, थामसेर्कु, गौरीशंकर, मकालु, नुम्बुर, कार्यालुङ हिमालर दुधकुण्ड क्षेत्र राम्रोसंग नियाल्न सकिन्छ । वर्षा र जाडो मौसममा बादलले हिमाल छेक्ने भएकाले पनि यो मौसम सगरमाथा हिमशृंखला हेर्न पत्ताले उत्तम गन्तव्य मानिन्छ । सर्वाेच्च शिखर देखि तराईका फाँटहरु पनि यहीँबाट हेर्न सकिन्छ ।
पर्यटकीय क्षेत्रको रुपमाविकास भएपछि पत्तालेमा दर्जनभन्दा बढी होटल तथा लजहरु पनि संचालनमा छन् । पूर्वाधार हिसाबले पत्ताले दर्जनभन्दा बढी होटल छन् । विभिन्न अबसर, पर्व मनाउन सोलुखुम्बु, ओखलढुंगा र खोटाङ लगाएतका जिल्लाबाट धेरै मानिसहरुको बाक्लो उपस्थिति हुनेगर्छ । यस क्षेत्रमा अर्काे आकर्षण हो, गुँरास र चिमल । चैत्र अन्तिम देखी बैशाख महिना भर बन नै रंगिन हुने गरि गुराँस र चिमलफुलेको देख्दा मनमोहक दृश्यले सबैको मन भुलाउछ ।
पत्तालेमा करिब पाँच करोडको लागतमा बुद्धपार्क निर्माण गरिदै छ । गएको बर्ष उक्त पार्कको सिलन्यास गरिएको छ । बुद्धपार्क निर्माण गर्न लागिएको पत्ताले क्षेत्रमा प्रसिद्ध गौरीटाप, चाँगेस्थान मन्दिर तथा दृष्यावलोकनका लागि प्रसिद्ध थालेडाँडा अवस्थित छ । गौरीटापलाई समेत धार्मिक पर्यटकीय क्षेत्र बनाउन सक्रियता बढेको छ ।