दाहाल मान्दैनन् ‘विलय’ हुन | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

दाहाल मान्दैनन् ‘विलय’ हुन

prachanda

काठमाडौं, ८ बैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘निजी’ नभई ‘पार्टीकै धारणा’ अनुसार गम्भीर सोचविचारपछि सार्वजनिक गरेका थिए– बराबरीका आधारमा पार्टी एकता हुनुपर्ने अभिव्यक्ति । आफू निकट नेताहरूसँगको परामर्शपछि उनको यो अभिव्यक्ति आएको थियो ।

दाहालको यो बराबरी अर्थात् ५०/५० प्रतिशतका आधारमा पार्टी एकता हुनुपर्ने अभिव्यक्ति बहस, छलफल र दबाबका लागि थियो । ताकि यसले एमाले नेताहरूलाई सोच्न बाध्य पारोस् ।

यसमा एकतापछि दाहाललगायत अन्य माओवादी वरिष्ठ नेताको भविष्य के हुने भन्ने मनोविज्ञान छ । दाहालको यो मनोविज्ञान बुझेर हुनुपर्छ एमाले नेताहरूले पनि अहिले नै दाहाललाई ‘अध्यक्ष लेखेर दिन नसकिने’ बताए ।

महाधिवेशनअघि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहाल दुवै अध्यक्ष वा सहअध्यक्ष रहने अन्तरिम विधानले टुंगो लगाएको छ । यो प्रावधानले मात्र दाहालको आगामी राजनीति सुरक्षित हुन नसक्ने बुझाइ उनको छ । ‘दुई अध्यक्ष भने पनि अध्यक्ष प्रचण्ड सेरोमोनियल बनाउने संकेत मिल्यो,’ माओवादीका एक नेताले भने, ‘दुवै कार्यकारी अध्यक्ष हुनुपर्छ भन्ने छलफल चल्दै छ ।’

एकतापछि हुने निर्णय अल्पमत/बहुमतका आधारमा हुने भएकाले माओवादीको भविष्य ‘अन्धकार हुने’ सुझाव पनि दाहालले पाए । त्यसकारण उनले पार्टी एकता हुनुअघि केही सुनिश्चितता चाहे । खासगरी प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीबाट पार्टी एकतापछि दाहाललगायत वरिष्ठ नेताको राजनीतिक भविष्यबारे केही न केही समझदारी माओवादी पक्षले चाहन्छ ।

गत निर्वाचनको परिणाम र त्यसअघि भएको निर्वाचन सिट बाँडफाँटलाई आधार बनाउने एमालेको रणनीतिलाई प्रतिवाद गर्न दाहालले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्ने अडान ल्याएको माओवादीको भनाइ छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);