२९ साउन, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले बाढी प्रभावित जनताको राहत तथा उद्धारमा सम्पूर्ण शक्तिका साथ परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आईतबार प्रेस विज्ञप्ति जारी गरी सो निर्देशन दिनुभएको हो । प्राकृतिक विपद्को यस अवस्थामा उद्धार र राहतका लागि तत्काल जुट्न पार्टीको सम्पूर्ण पंक्तिलाई आग्रह गर्नुभएको हो ।
विज्ञप्तिमार्फत नै उहाँले ठूलो जनधनको क्षति भएको र बाढीपहिराका कारण राजमार्ग तथा अन्य सम्पर्क सञ्जालसमेत अवरुद्ध हुन पुगेकाले नागरिकको जीउधनको रक्षा गर्न, उनीहरुलाई सुरक्षित स्थानमा उद्धार गर्न र राहतको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले सरकारमा सहभागी भएका पार्टीका मन्त्रीलाई पनि नागरिकको उद्धार र राहत वितरणमा सक्रियताका साथ लाग्न र परिचालित हुन आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।