अन्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिब्र | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

अन्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिब्र

buddha sammelan

विवेक विश्वकर्मा
भैरहवा, ६ बैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा हुने अन्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिब्र बनाइएको छ । आगामी वैशाख १५ र १६ गते हने सम्मेलनका लागि ३ हजार अट्ने सभाहल बनाउने काम भइरहेको छ । सभाहलको ७० प्रतिशत काम सकिएको लुम्विनी विकास कोषले जनाएको छ । सम्मेलामा २३ देशका प्रतिनिधिले सहभागिता जनाउने छन् ।

आगामी बैशाख १५ र १६ गते आयोजना हुने बौद्ध सम्मेलनको तयारी तिब्र बनाइएको हो । सम्मेलनका लागि ३ हजार अट्ने सभाहल बनाउने काम धमाधम भइरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषले जनाएको छ । २ वर्षअघि हावाहुरी र वर्षाका कारण बुद्ध जयन्ती विथोलिएपछि तत्कालिन प्रधानन्त्री केपी ओलीले सभाहल बनाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनमा सभाहल बनाइएको हो । अहिले ओली नै प्रधानमन्त्री छन् । सम्मेलनअघि नै प्रधानमन्त्री ओलीले सभाहलको उद्घाटन गर्ने कार्यक्रम छ । ४ करोडको लागतमा बनाउन लागिएको सभाहलको ७० प्रतिशत काम सकिएको छ ।

अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा २३ देशका प्रतिनिधिले सहभागिता जनाउने छन् । १३ वटा देशका धार्मीक तथा संस्कृति मन्त्रीहरु र अन्य राष्ट्रकातर्फबाट बौद्ध संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाउने कोषले जनाएको छ ।

अहिलेसम्म भारत, जापान, फ्रान्स, यूके, पोल्याण्ड, मलेसिया, जर्मन र श्रीलंकाले सहभागिता जनाउने पक्का भएको छ । १५ वटा मुलुकले कार्यपत्र प्रस्तुत गर्ने सम्मेलनमा ६ सय बौद्ध प्रतिनिधिहरुले सहभागिता जनाउने छन् । बैशाख १५ गते प्रधानमन्त्री केपि ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

१७ गते बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि लुम्बिनी जाने कार्यक्रम छ । अन्तराष्ट्रिय बौद्ध सम्मेलनकै सभाहलमा बुद्ध जयन्ती मनाइने कोषले जनाएको छ । सम्मेलनले बुद्ध जन्मस्थल लुम्बिनीको विश्वभर प्रचारप्रसार र बौद्ध शिक्षाको अध्ययन अनुसन्धानमा टेवा पुग्ने विश्वास छ ।