मन्त्री, सभामुख र अध्यक्षकै टेलिफोन किन काटियो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मन्त्री, सभामुख र अध्यक्षकै टेलिफोन किन काटियो ?

telephone

काठमाडौं, ६ बैशाख । सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१ ४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयमा टेलिफोन गर्दा पनि आगमन कल निषेध गरिएको सूचना सुनाइन्छ ।

टेलिफोन शुल्क बेलैमा नतिरेपछि संसद् सचिवालयको मात्र होइन, विभिन्न मन्त्रालय र संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयहरूको पनि लाइन काटिएको छ । केन्द्रीयदेखि स्थानीय तहसम्मको सरकारी कार्यालयमा अघिल्लो महिनाको शुल्क नतिरेपछि लाइन काटिएको हो । टेलिकमको नयाँ बिलिङ प्रणालीअनुसार ल्यान्ड लाइन टेलिफोनको मासिक बिल अंग्रेजी महिनाको १५ तारिखमा तयार हुने गर्छ । टेलिफोनको अघिल्लो महिनाको बिल भुक्तानी गरेर क्रेडिट लिमिटका आधारमा सेवा नियमित गर्नुपर्ने हुन्छ ।

टेलिकमले सरकारी कार्यालयको टेलिफोन लाइन काट्नुअघि एसएमएस गरी ल्यान्ड लाइन टेलिफोनको चैत महिनाको बिल वैशाख ३ गते बेलुका तयार हुने भएकाले बिल भुक्तानी गरी क्रेडिट लिमिटका आधारमा सेवा नियमित गर्नसमेत अनुरोध गरेको थियो ।

स्रोतका अनुसार संसद् सचिवालयका नाममा ६० लाख रुपैयाँभन्दा बढी बक्यौता छ । ‘यो पुरानो बक्यौता हो,’ सचिवालय स्रोतले भन्यो, ‘सबै टेलिफोनको लाइन बन्द भएपछि लाजैमर्दो भएको छ । सरकारसँग बक्यौता तिर्न रकम माग गरेका छौं । पैसा नतिरेसम्म यस्तै हुने भयो ।’ सचिवालयका पदाधिकारीले भने आफ्नो कार्यालयको मात्र नभई सिंहदरबारभित्रका मन्त्रालयहरूको पनि लाइन काटिएको भन्दै बचाउ गरिरहेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको कार्यकक्षमा रहेको ०१४२००३११ नम्बरको टेलिफोन लाइनसमेत काटिएको छ । टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको टेलिफोन लाइनसमेत काटेको छ । मन्त्रालयका प्रवक्ता रामचन्द्र पौडेलको ०१४२११४३५, गुनासो सुन्ने अधिकारी उपसचिव गोविन्दसिंह भण्डारीको ०१४२११८३०, सूचना अधिकारी उपसचिव संगीता ओझाको पनि टेलिफोन लाइन काटिएको छ । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);