चित्र बेच्दै कार चढ्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

चित्र बेच्दै कार चढ्दै

car

काठमाडौँ, ५ बैशाख । कार चढ्नुअघि चित्रकार महेश आचार्यले आफ्नो वाहनलाई नमन गर्छन् । अनि कतै धूलोमैलो लागेको छ भने सफा गरेर चिटिक्क पार्छन् । उनले चढ्ने कारसँग उनको अतीत लुकेको छ । सजिलै नपाइने वस्तुको महत्त्व पाएपछि झनै बढी हुन्छ ।
चित्रकार भएकै कारण कार किन्न निकै गाह्रो परेको ७ वर्षअघिको क्षण सम्झन्छन् महेश । बैंकबाट ऋण लिएर कार किन्ने चाहना राखेका महेशलाई बैंकले पत्याएन ।
‘बैंकलाई चित्रकला बुझाउन एक हप्ता लाग्यो,’ उनले भने, ‘विश्वास नलागेपछि बैंकका स्टाफलाई चित्र प्रदर्शनी भइरहेको ग्यालरीमा बोलाएँ, अवलोकन गर्न । अनि मात्रै लोन पाएँ ।’चित्रकला आफैंमा सबल स्रोत हो । विकसित मुलुकहरूमा यो महँगो मूल्यमा लिलाम बढाबढ हुन्छ । चित्रकला धितो राखेर बैंकबाट ऋण लिने पाउने व्यवस्था पनि संसारमा प्रचलित छ । नेपाली समाजमा भने कलालाई सम्पत्तिको रूपमा बुझ्ने प्रचलन नभएकाले व्यावसायिक हुन नसकेको महेशको अनुभव छ । ‘तर, अब परिस्थिति फेरिएको छ,’ उनले
भने, ‘बिस्तारै हाम्रो बजार व्यावसायिक बन्दै छ ।’

चित्र बेचेरै कार चढ्ने स्रष्टाहरू थुप्रै छन् । यीमध्ये चित्रकार ज्योतिप्रकाश विके पनि हुन् । ज्योतिले कार किनेको ३ वर्ष मात्रै पुगेको छ । बनाएका सिर्जनाहरू ग्राहकसामु पुर्‍याउन सवारी साधनको अभाव खटेपछि उनले चित्रकै कमाइबाट कार किनेको दाबी गरे । अहिले उनी पहिलेको भन्दा दोब्बर काम गर्न सक्ने भएका छन् । ‘स्मार्ट’ चित्रकारको छवि बनाउन अचेल सवारीसाधन अचेल अनिवार्यजस्तै भएको ज्योतिले बताए ।

चित्रकार सरिता डंगोलको नाम पनि यही पंक्तिमा पर्छ । उनी चित्रकार मात्रै होइनन् । पेसासँगै आमा र गृहिणीको जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यतामा छिन् उनी । यस्तोमा सहजताको ठूलो खाँचो पर्छ, यही सहजता दिलाएको छ कारले, जुन आफ्नै कमाइको उपज हो । ‘आफ्नै मिहिनेतले कार चढ्दा बेग्लै आत्मविश्वास आउँदो रहेछ,’ उनले भनिन्, ‘कार मेरो लागि अस्तित्वको पहिचान पनि हो ।’ सरितासँग सुरुमा स्कुटर थियो । पछि छोराछोरी भएपछि सुरक्षाकै लागि पनि कार नभई भएन । त्यही आवश्यकतालाई चित्रकलाले सपोर्ट गर्‍यो । ‘कार किन्नकै लागि भनेर चित्र बेचेको पैसा छुट्टयाउन थालें,’ उनले सुनाइन्, ‘अनि लोन नलिई किनें ।’

बनारसबाट फाइन आर्ट अध्ययन गरेर काठमाडौ आउँदा वरिष्ठ चित्रकार उमाशंकर साहसित १५ सय रुपैयाँ मात्रै थियो । त्यो पनि गाडी भाडामै सकियो । सन् १९९१ ताका काठमाडौं आएका उनले १९९२ मा जमलमा किरण मानन्धरको ग्यालरी ‘पल्पसा’ मा पहिलो एकल चित्रकला प्रदर्शनी गरेका थिए । यो प्रदर्शनीबाट ५ हजार रुपैयाँ कमाएको उनी अहिले पनि सम्झिन्छन् । त्यसको एक वर्षपछि सन् १९९३ मा सिद्धार्थ आर्ट ग्यालरीमा उनले तेस्रो एकल चित्रकला प्रदर्शनी गरे अनि ४५ हजार रुपैयाँ आम्दानी गरे ।

‘त्यसपछि कलाको मूल्य बढ्दै गयो,’ उनले भने, ‘देशविदेश घुमाइका क्रममा चित्र बेचेरै काठमाडौंमा घर बनाएँ, अनि कार किनेँ ।’
सुरुमा किस्तामा किन्न सोचे पनि त्यसको दुई महिनापछि ऋणै नलिई किनेको उनले सुनाए । १० वर्ष पहिले किनेको त्यही कार उनी अहिले पनि चढ्दै छन् । आफैं ड्राइभिङ गर्छन् । उनलाई फेसनको दुनियाँ पछयाउँदै नयाँ कार किन्ने चाहना छैन । ‘निकै जतन गरेर चलाउँछु,’ उनी भन्छन्, ‘कन्डिसन राम्रै छ । यो मेरो लागि लक्की कार हो ।’

उमाको जस्तै छ रागिनी उपाध्यायको संघर्ष कथा । चित्रकला अध्ययन गर्न काठमाडौं आउँदा उनले सम्पत्तिका नाममा एउटा सुटकेस बोकेर आएकी थिइन् । अहिले उनी करोडौंकी मालिक्नी भइसकेकी छन् । आफ्नै परिश्रमले धनसम्पत्ति जोडेको उनी बताउँछिन् । ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनीले कार्यालयमा निजी कार लिएर आउँछिन् । प्रतिष्ठानको गाडी बिग्रिएपछि उनले आफ्नो साधन प्रयोग गरेकी हुन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);