पाकिस्तानमाथि मानव तस्करीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाकिस्तानमाथि मानव तस्करीको आरोप

donald-trump-pak-pm

आतंकवादलाई संरक्षण गरेको आरोप खेप्दै आएको पाकिस्तानमाथि अब मानव तस्करीको आरोप पनि लागेको छ । पाकिस्तानले मानव तस्करी रोक्न पहल नगरे अब उसलाई दिँदै आएको सहयता कटौती गर्ने संयुक्त राज्य अमेरिकाले चेतावनी दिएको छ ।

मानव तस्करी भइरहँदा त्यसलाई रोक्न पाकिस्तानले कुनै पहल नगरेको मानव अधिकारकर्मीहरुले आरोप लगाएपछि अमेरिकी ट्रम्प प्रशासनले त्यसमा चासो देखाएको छ । उसले मानव तस्करी भइरहेको भन्दै त्यसलाई रोक्न पाकिस्तानलाई चर्को दबाब दिइरहेको छ । त्यतिमात्रै होइन, मानव तस्करी नियन्त्रण गर्न सहयोग नगरे अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहायता कटौती गर्ने चेतावनीसमेत दिएको छ ।

यसै वर्ष जनवरीमा ट्रम्प प्रशासनले पाकिस्तानलाई दिँदै आएको करिव २ अर्ब डलर सुरक्षा सहयोगमा रोक लगाएको थियो । समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानलाई अमेरिकाले २६ करोड ५० लाख डलर सहयोग गर्दै आएको छ । मानव तस्करीको आरोपमा पाकिस्तान कालो सूचिमा परेमा अमेरिकाबाट प्राप्त हुने ठूलो सहयोग रोकिने छ ।

अमेरिकाको विदेश विभागले दक्षिण एसियामा मानव तस्करीको सन्दर्भमा गलत काम गर्दै आएका देशको अनुगमन गर्दै आएको छ । अमेरिकाको संघीय कानुन अनुसार मानव तस्करीको मामिलामा सबै भन्दा तल्लो तहमा रहने देशमाथि आर्थिक प्रतिबन्ध लगाउन सकिन्छ । तर, अमेरिकाका राष्ट्रपतिले यसमा पूरा र आंशिक छुट दिन सक्ने प्रावधान छ ।

ट्रम्प प्रशासनको एक वरिष्ठ अधिकारीले यो मुद्दामा तत्काल निर्णय नभए पनि सहायता कटौतिबाट जोगिनका लागि पाकिस्तानले आफ्नो व्यवहारमा सुधार गर्नु पर्नेमा जोड दिएको छ । उता, पाकिस्तानका गृहमन्त्री एहसान इकबालले रोयटर्स समाचार संस्थालाई दिएको जनकारी अनुसार पाकिस्तानले मानव तस्करीविरुद्ध ठूलो काम गरेको दाबी गरेको छ ।

पाकिस्तान अमेरिकासँग सम्बन्ध विगार्न चाहँदैन । तर, अमेरिकाले कुनै पनि हालतमा मानव तस्करीलाई प्रोत्साहित गर्ने कामलाई बढ्न नदिने दृढता व्यक्त गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);