केपी ओलीका लागि २०७४ साल फलदायी, दाहालका लागि सन्तोषजक, निर्वाचन सम्पन्न गराएका देउवालाई तनावै-तनाव
काठमाडौं, ३० चैत । २०७४ साल आजबाट बिदा हुँदैछ । नेपाली राजनीतिमा २०७४ साल कतिपय नेताका लागि फलिफाप र सम्झनायोग्य बन्यो भने कतिपय नेताहरुका लागि अफापसिद्ध बर्षको रुपमा रह्यो । तर, २०७४ साल फापेका र नफापेका दुबै खालका नेताका लागि अगामी दिन पनि निकै चुनौतिपूर्ण हुनेछ ।
प्रधानमन्त्री ओलीलाई २०७४ साल फलिफाप
२०७४ फागुन ३ गते दोश्रोपटक प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७४ साल भरी नै चर्चाको शिखरमा रहे । निर्वाचनको परिणाम पनि उनकै पार्टीको पक्षमा आयो । देश संघीयतामा गएको अवस्थामा ७ प्रदेश मध्ये ६ प्रदेशमा वामपन्थी नेतृत्वको सरकार बन्यो ।
नेपालको लोकतान्त्रिक इतिहासमा ओली तीन चौथाई सांसदको समर्थनमा शक्तिशाली प्रधानमन्त्री बने । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत लिँदा उनले २ सय ८ जना सांसदको समर्थन प्राप्त गरे ।
वाककलामा निकै निपुर्ण मानिने ओली प्रधानमन्त्रीमा मात्र हैन पार्टी भित्र र बाहिर पनि त्यतिकै शक्तिशाली बने । अहिले ओलीको कुनै प्रतिस्पर्धी छैनन् भन्दा अतिसयुक्ति नहोला । उनको एकछत्र पकड पार्टीमा मात्रै होइन राष्ट्रिय राजनीतिमा पनि उत्तिकै छ ।
कुनै बेला संविधान सभा र गणतन्त्र चाहनेहरुलाई बयलगाडामा चन्द्रमाको यात्रा गराउनुपर्छ भन्ने अभिव्यक्ति दिने ओली गणतन्त्र मै सबैभन्दा शक्तिशाली बनेका छन् । ओलीका लागि २०७४ राजनीतिक रुपमा पनि निकै अनुकुल रह्यो ।
राष्ट्रियताको वकालत र समृद्धिका लागि ओलीका अभिव्यक्तिले उनलाई २०७४ फलिफापयुक्त वर्ष बन्यो । लोकतन्त्रमा सामान्यतः दुर्लभ मानिने राजनीतिक अनुकुलता ओलीलाई २०७४ सालमै प्राप्त भएको छ ।
ओलीका लागि २०७४ सालमा निकै सफलता मिलेता पनि यो कति टिकाउ हुन्छ, त्यो २०७५ सालले देखाउने छ । प्रधानमन्त्री भएपछि २०७४ सालमै छिमेकी मुलुक चीन र भारतले ओलीलाई आ–आफनो मुलुक भ्रमणका लागि निम्तो दिए ।
एकैचोटी निम्तो आएका बेला भारत या चीन कुन देशको भ्रमण पहिलो भन्ने प्रश्न उठिरहेका बेला ओली भारतको भ्रमणमा जाए । ओलीलाई दुबै देशसँग सन्तुलित कुटनीतिक सम्बन्ध बिकास गरेर अघि बढ्नु पर्ने अवस्था छ भने देश र जनताले भोग्ने गरेका समस्या पनि ओलीले सम्बोधन गर्नु पर्ने स्थिति छ ।
निर्वाचनका बेला राजनीतिक स्थिरताको नारा बनाएका ओलीले प्रधानमन्त्री भएपछि समृद्ध नेपाल, सुखी नेपाली’ भनेर अघि सारेका नारा कसरी पूरा हुन्छ त्यो पनि २०७५ सालले नै देखाउने छ । तर, अहीलेकै अवस्था हेर्ने हो भने तयारी भने सुन्य छ ।
पारिवारिक दु:खबाहेक प्रचण्डका लागि अनुकुल
उता, २०७४ असोज १७ गते नेकपा एमालेसँग पार्टी एकीकरण गरेर अघि बढ्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पनि राम्रै चर्चा भयो । तर, यो वर्ष उनलाई पुत्रशोक पनि पर्यो । एमालेसँगको गठबन्धन उनलाई फाप्यो । निर्वाचनमा वाम गठबन्धनले पाएको मतले दाहाललाई शक्तिशाली नेताकै रुपमा रहन मद्दत पुर्यायो ।
तर, पछिल्लो समय प्रधानमन्त्री ओली हरेक क्षेत्रमा हाबी हुँदै गएपछि दाहाल केही पछि देखिएका छन् । काँग्रेससंग ९/९ महिना आलोपालो गरेर सरकारको नेतृत्व गरेका दाहालले २०७४ जेठ २३ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर काँग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेका थिए । पारिवारिक दु:खबाहेक राजनीतिक हिसाबले समग्रमा दाहालका लागि २०७४ साल अनुकुल नै रह्यो ।
देउवाका लागि प्रतिकुल
२०७४ साल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका लागि पनि निकै प्रतिकुल बन्यो । २०७४ जेठ २३ गते चौथोपटक प्रधानमन्त्रीका रूपमा ८ महिना १० दिन सरकारमा रहेका कांग्रेस सभापति देउवाले तीनै तहको निर्वाचन सम्पन्न गर्नेबाहेक मुलुकले सम्झन लायक कुनै काम गर्न सकेनन् ।
यद्यपी स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराएर त्यसको जस लिने मौका भने देउवाले पाए । तर, तीनै तहको निर्वाचनमा नेपाली काँग्रेस भने नराम्रोसँग पराजित भयो । निर्वाचनमा पार्टी पराजित भएपछि देउवाको बिरोध मात्रै भएन पार्टीको नेतृत्व नै परिवर्तन हुनु पर्छ भन्ने आवाज उठिरहेको छ ।
यती हुँदा हुँदै पनि पार्टीको संसदीय दलको नेतामा सांसदहरुले देउवालाई नै चुने । प्रधानमन्त्री हुँदा कतिपय बिवादास्पद निर्णय गरेका देउवाले २०७४ फागुन ३ गते प्रधानमन्त्री पदवाट राजीनामा दिने क्रममा आफ्नो कार्यकाल निकै सफल भएको दाबी गरे ।
संविधानका केही प्रावधानप्रति असहमति जनाउँदै आन्दोलनरत मधेसकेन्द्रित दललाई निर्वाचनसम्म ल्याउनु उनको ठूलो सफलता रह्यो । देउवाका लागि २०७४ साल अनुकुल देखिएपनि उनी नेतृत्वको कांग्रेका लागि भने निकै प्रतिकुल हुन पुग्याे ।
यसरी २०७४ साल देउवाका लागि केही सु:खद र केही दु:खद रहेता पनि आउँदा बर्षहरु देउवाका लागि निकै चुनौतीपूर्ण रहेका छन । प्रमुख प्रतिपक्षी दलको रुपमा संघीय संसदमा काँग्रेसले जनताको पक्षमा खेल्ने भूमिका कस्तो रहन्छ र पार्टीको नेतृत्व परिवर्तनको बिषय उठिरहेका बेला त्यसलाई देउवाले कसरी सम्बोधन गर्छन त्यो हेर्न बाँकी नै छ ।
नेपाली काँग्रेसलाई पुरानै अवस्थामा फर्काउन देउवा कसरी अघि बढ्छन्, त्यो सबैको चासो बनेको छ । यसरी २०७४ साल कतिपय राजनीतिक दलका नेताका लागि सम्झना लायक बर्ष बन्यो भने कतिपयका लागि अफापसिद्ध बन्यो ।