काठमाडौं, २७ चैत । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबारबाट सौर्य उर्जा प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको १ मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदुत यू होङले संयुक्तरुपमा उद्घाटन गरे ।
करिव ६० करोड लागतमा उक्त सौर्य उर्जा उत्पादन गरी बत्ती जडान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले सौर्य उर्जा नेपालको विकासका लागि महत्वपूर्ण उर्जा भएको बताए ।
नेपालका लागि चीनका राजदुत होङले नेपालको उर्जा विकासमा चीनले दिर्घकालीन योजना बनाएर अघि बढ्न चाहेको स्पष्ट पारे । उनले नेपालको विकासमा चीनले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।यसअघि उक्त परियोजना चीन सरकारको तर्फबाट नेपालको उर्जा मन्त्रालयलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो ।