राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पा

dolpa sadak

डोल्पा, २७ चैत । त्रिपुरासुन्दरी नगरपालिका ५ करपगार तथा खदाङ र ६ को सिरबिन्डेसम्म गाडी पुगेपछि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । सडकले छोएपछि डोल्पाको सिमाना गाउँ खदाङमा पुग्दै जिपहरू ।

जाजरकोट–दुनै मोटरबाटोको त्रिवेणी–सिरबिन्डेसम्म आइतबारदेखि औपचारिक रूपमा यातायातका साधन सञ्चालन हुन थालेका छन् । त्रिवेणीदेखि खदाङसम्मको १४ किलोमिटर दूरीमा रहेका कुची भीर, सिरबिन्डेलगायत भीर काटेपछि यातायात सुचारु भएको नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए । जाजरकोट–डोल्पा सडक मार्गको १ सय १५ किलोमिटर निर्माण पूरा भएको उनले बताए । बाँकी ३ किलोमिटर कडा चट्टान काटेर अबको ६ महिनाभित्र सदरमुकाम दुनैसम्म गाडी पुर्‍याउने लक्ष्यअनुरूप युद्धस्तरमा कार्य गरिरहेको उनले बताए ।

डोल्पाको सिरबिन्डेसम्म यातायात सुचारु भएपछि दैनिक उपभोग्य वस्तु ओसारपसार तथा आवतजावतमा सहज भएको छ । जाजरकोट–डोल्पा सडकको यस खण्डमा यातायात सञ्चालनले जाजरकोटका विकट बस्ती खगेनकेट, रग्दा, भगवती, रुकुमको खदी, गोतामकोट, डोल्पाका सर्मी, नर्कु, कालिका, काइके, मुर्के जिउला, जगदुला, लिगुलगायतका स्थानीयको आवतजावत सहज भएको हो । सडक खण्डमा यातायात सञ्चालन भएपछि दुनैलगायतका बासिन्दाको २र३ दिन पैदल हिँडेर त्रिवेणीमा गाडी भेट्न पुग्नुपर्ने बाध्यता हटेको छ । जाजरकोटदेखि मनकाबगरसम्मको ७७ किलोमिटरमा यातायात गत वर्ष नै सञ्चालनमा आएको थियो ।

नेपाली सेनाले सात वर्षअघि जाजरकोट–डोल्पा सडकको खलंगाबाट निर्माण थालनी गरेको थियो । १ सय १८ किलोमिटर लम्बाइको भेरी करिडोर मार्ग निर्माणमा राष्ट्रिय महत्त्वको आयोजना भएको पहाडीले बताए । सिरबिण्डेसम्म सडक पुगे पनि माथिल्लो डोल्पामा यातायातको सुविधा नहुँदा तिन्जे, छार्का भोट, सिमेन भोट, धोलगायत दर्जनौं विकट बस्तीका बासिन्दाको जनजीवन कठिन नै छ । डोल्पाका ती विकट बस्तीका बासिन्दालाई सातासम्मको पैदल हिँडाइ र थाप्लोमा भारी बोक्नुपर्ने बाध्यताले भने छाडेको छैन । खाद्यान्नलगायत जोहो गर्न ५ दिन पैदल हिँडेर सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता नटरेको नर्कुका कृष्णबहादुर शाहीले बताए ।

चीनको सिमानामा रहेको धोदेखि सिरबिन्डे पुग्न एक हप्ता पैदल हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए । सरकारले भेरी करिडोर सहायक राजमार्गको निर्माणलाई प्राथमिकता नदिँदा जाजरकोट र डोल्पाका विकट बस्तीका बासिन्दा यातायात पहुँच बाहिर रहन बाध्य भएको शाहीले बताए । सडक विभागले भारतको रुपैडियादेखि चीनको सिमानामा रहेको धो भोटसम्म ४ सय किलोमिटर दूरीको उक्त सडकको बजेट विनियोजनमा कम प्राथमिकता दिएको पाइएको छ । सदरमुकाम दुनैतर्फ सुम्पानीसम्म १० किलोमिटरमा आन्तरिक जिप सेवा सञ्चालन भइरहेको छ । बाँकी १७ किलोमिटर खण्डमा दूरीमध्ये तीन किलोमिटरमा मात्र कडा चट्टान फोड्न बाँकी छ ।

प्रतिनिधिसभा सदस्य एवं पूर्व शान्तिमन्त्री सत्या पहाडीले रिवन काटेर त्रिवेणीबाट आएका ६ वटा जिप खदाङ प्रवेश गराएकी थिइन् । कार्यक्रममा उपस्थित अथितिहरूलाई स्थानीयले बाजागाजा र फूलमालासहित स्वागत गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पहाडी, प्रदेशसभा सदस्य बद्मीक्वारी बोहोरा र वीरबहादुर शाहीले डोल्पाको विकासमा सडकले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनीहरूले मोटरबाटो सम्पन्न भए डोल्पाको विकासले नयाँ गति लिने बताए ।

सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि मात्र सपना पूर्ण रूपमा साकार हुने त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले बताए । जिप सञ्चालनमा आएपछि १३ किलोमिटर पैदल बाटो छोटिएको छ । दैनिक उपभोग्य सामान ढुवानीमा सहजता आएको छ । थप खण्डमा यातायात सेवा सञ्चालनसँगै स्थानीय बजारमा महँगी घट्ने र जनजीवन सहज हुने स्थानीयले जनाएका छन् । आजको कान्तिपुर दैनिकमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);