विद्यार्थी भर्नाका नाममा निजी विद्यालयहरुको ब्रम्हलुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विद्यार्थी भर्नाका नाममा निजी विद्यालयहरुको ब्रम्हलुट

education-fee\

काठमाडौं, २६ चैत । नयाँ शैक्षिक सत्र सुरु नहुँदै निजी विद्यालयहरुले भर्नाका नाममा ब्रम्हलुट मच्चाएका छन् । निजी विद्यालयहरुले जथाभावी शुल्क उठाएर भर्नाका नाममा ब्रम्हलुट मच्चाएका हुन् । निजी विद्यालयहरुको लुटमा नियमक निकायहरु भने रमिते बनेका छन् ।

निजी तथा आवासीय विद्यालयहरुले नयाँ शैक्षिक सत्र सुरु नहुँदै भर्ना सुरु गरेर चर्को शुल्क असुल गरी ब्रम्हलुट मच्चाएका छन् । निजी विद्यालयहरुले सरकारी निकायको स्वीकृति वेगर आफूखुशी चर्को शुल्क असुलेर ब्रम्हलुट मच्चाएका हुन् । कतिपय निजी विद्यालयहरुले भर्नावापत १० करोडभन्दा बढी शुल्क असुल गर्ने गरी शुल्क तय गरेका छन् ।

जेम्स, लिटल एञ्जल्स, ग्यालेक्सी पब्लिक, डीएभी शुशिल केडिया, नाइटिंगेल, वृहस्पति विद्यासदन, रोजबड, रातो बंगला, प्रिमियर इन्टरनेष्नल, युनाइटेड एकेडेमी, नोबल एकेडेमी लगायत काठमाडौं उपत्यकाका दर्जनौं विद्यालयले नयाँ शैक्षिक सत्रको सुरुमा करोडौं कुम्ल्याउने गरी शुल्क तय गरेका हुन् ।

ग्यालेक्सी पब्लिकले नर्सरीमा भर्ना हुने बच्चाका लागि ४२ हजार ९ सय ७५ रुपैयाँ शुल्क तय गरेको छ । पूर्वसभासद गीता रानाको ग्यालेक्सीमा ९ कक्षाको भर्ना शुल्क ४७ हजार २ सय २५ रुपैयाँ छ । ४५ हजारलाई औसत भर्ना शुल्क मान्दा ग्यालेक्सीले यो पटक भर्नावापत अभिभावकबाट १४ करोड रुपैयाँ उठाउँदै छ । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठको लिटल एञ्जल्सले यो पटक भर्नाका नाममा १५ करोडभन्दा बढी उठाउँदै छ ।

लिटल एञ्जल्सले करोडौं उठाउन १ देखि ३ कक्षासम्मको शुल्क २७ हजार ७ सय ७१ तथा ९ कक्षाको भर्ना शुल्क २८ हजार ५ सय ५१ रुपैयाँ तोकेको छ । ३ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत जेम्स स्कुलले सबै कक्षाका विद्यार्थीको भर्ना शुल्क ४७ हजार तोकेको छ । यस आधारमा जेम्सले अभिभावकबाट १६ करोडभन्दा बढी उठाउँदै छ । दीक्षित परिवारको लगानी रहेको रातो बंगलाले भर्ना शुल्क ७५ हजार तथा मासिक शुल्क २९ हजार रुपैयाँ तय गरेको छ ।

काठमाडौं उपत्यकामा भर्नाका नाममा करोडौं कुम्ल्याउने धन्दामा लागेका निजी विद्यालयको सूचि लामो छ । निजी विद्यालयको अचाक्लीलाग्दो शुल्कका कारण अभिभावक आत्तिएका छन् । निजी विद्यालयमा छोराछोरी पढाउन भएको सबै सम्पति बेच्नुपर्ने अवस्था आएको अभिभावकको भनाइ छ ।

विद्यालय सञ्चालकहरुका अनुसार भर्नाका नाममा उठाइने पूरै शुल्क मुनाफा हो । निजी विद्यालयहरुले मुनाफा आर्जनका लागि महिनैपिच्छे चर्को ट्युसन शुल्क समेत उठाउँदै आएका छन् । कक्षा १ देखि ३ सम्म ३४ हजार १ सय रुपैयाँका दरले भर्ना शुल्क उठाइरहेको युनाइटेड एकेडेमीले ती कक्षाका विद्यार्थीका लागि मासिक शुल्क ५ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ ।

निजी विद्यालयहरुले मासिक शुल्कबाट पनि राम्रो मुनाफा आर्जन गर्ने गरेका छन् । यसका अलावा निजी विद्यालयहरुले स्टेशनरी, खाना, खाजा, यातायातका नाममा पनि अभिभावकको ढाड सेक्दै आएका छन् । तर विद्यालय सञ्चालकहरु भने गुणस्तरीय शिक्षाका लागि शुल्क महङ्गो हुनु स्वभाविक भएको भन्दै अभिभावकबाट उठाएको शुल्क विद्यार्थीको पठनपाठनमा खर्चिने गरेको दाबी गर्छन् ।

आफ्नो स्वीकृतिविना निजी विद्यालयहरुले शुल्क उठाउन नपाउने भएपनि जिल्ला शिक्षा कार्यालयहरुले जथाभावी शुल्क लिएकामा अहिलेसम्म एउटै विद्यालयमाथि कारवाही गरेका छैनन् । बरु जिल्ला शिक्षा कार्यालयहरुले ब्रम्हलुट मच्चाउन छुट दिएका छन् । १२ कक्षासम्मको शिक्षा आफ्नो दायित्वभित्र परेपनि बोर्डिङ स्कुलहरुको ब्रम्हलुट रोक्न स्थानीय तहहरुले पनि तदारुकता देखाएका छैनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);