एजेन्सी, २६ चैत । स्पेनिस ला लिगामा रियल मड्रिड दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एथ्लेटिको मड्रिडसँग एक एक गोलको बराबरीमा रोकिएसँगै रियल मड्रिड अंक तालिकाको चौंथो स्थानमा पुगेको छ ।
मड्रिड डर्बीमा भएको खेलमा रियल मड्रिडले क्रिष्टियानो रोनाल्डोको गोलमा अग्रता लिएको थियो । रोनाल्डोले खेलको ५३ औं मिनेटमा गोल गरेकामा एथ्लेटिको मड्रिडले चार मिनेट लगत्तै बराबरी गोल फर्काएको थियो । एथ्लेटिकोका लागि एण्टोनियो ग्रिजम्यानले बराबरी गोल गरेका हुन् ।
एथ्लेटिको मड्रिडले रियल मड्रिडसँग बराबरी खेल्दा शीर्ष स्थानको बार्सिलोना चुनौति बिहीन देखिएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३१ खेलबाट ६८ अंक छ भने शीर्ष स्थानको बर्सिलोनाको समान खेलबाट ७९ अंक छ । चौंथो स्थानमा झरेको रियल मड्रिडको भने ६४ अंक छ ।
गएराति नै भएको अर्को खेलमा स्पान्योललाई १–० ले पराजित गरेर भ्यालेन्सिया तेस्रो स्थानमा उक्लिएको हो । भ्यालेन्सियाको ६५ अंक छ ।