‘मोतिहारी-अमलेखगञ्ज' पेट्रोलियम पाइपलाइनको संयुक्त शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘मोतिहारी-अमलेखगञ्ज’ पेट्रोलियम पाइपलाइनको संयुक्त शिलान्यास

काठमाडौं, २४ चैत । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच दबाएर नेपाल–भारतबीच पाइपलाइन बनाउने परियोजनाको शिलान्यास गरेका छन् । दुई प्रधानमन्त्रीले वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी)को पनि उद्घाटन गरेका छन् ।

नेपाल–भारत पेट्रोलियम पदार्थ पाइपलाइन परियोजना अन्तर्गत भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइपलाइन बनाउने विषयमा तयार गरिएको सम्झौतापत्रमा दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेका हुन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा स्वीच दबाएर पाइप लाइनको शिलान्याश पनि गरेका छन् । यो पाइपलाइन ६९ किलोमिटर लामो हुनेछ ।

यस्तै मोतिहारीमा पम्पिङ्ग सुविधा रहने पाइपलाइनबाट वार्षिक २० लाख टन पेट्रोलियम पदार्थ निर्यात गर्न सकिन्छ । यो परियोजनाको कार्यान्वयन नेपाल आयल निगम र भारती आयल निगमले संयुक्त रुपमा गर्ने छन् ।

पेट्रोलियम पदार्थका लागि नेपालको एक मात्रै विकल्पको रुपमा भारत रहँदै आएको छ । अहिलेसम्म ट्यांकरमै भारतबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ । यो पाइपलाइन बनेपछि पने पेट्रोलियम पदार्थ आयातमा खर्च कटौती हुनुका साथै सहज पनि हुनेछ ।

पाइपलाइन निर्माण भएपछि नेपालले पेट्रोलियम पदार्थ आयात गर्न खर्चिंदै आएको ठूलो रकम जोगिने छ । नेपालले पेट्रोलियम पदार्थ आयातका लागि वार्षिक एक खर्बभन्दा बढी खर्च गर्दै आएको छ । दुई प्रधानमन्त्रीले संयुक्त रुपमा वीरगञ्जको एकीकृत जाँच चौकी (आइसिपी)को पनि उद्घाटन गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात समितिको संयोजनमा निर्माण भएको उक्त एकीकृत जाँच चौकीको उद्घाटन हैदरावाद हाउसबाट गरिएको हो । नेपाल र भारत बीचको सम्झौताअनुसार सन् २०११ को जुलाईमा शिलान्यास भई उक्त एकीकृत जाँच चौकीको निर्माण कार्य थालिएको थियो ।

मुआब्जा विवाद, ठेकेदारको लापरबाही, ढुङ्गा, बालुवाजस्ता निर्माण सामग्रीको अभावका कारणले एकीकृत चौकी निर्माणमा ढिलाइ भएको थियो । भारतीय सहयोगमा विराटनगर भैरहवा र नेपालगगञ्जमा पनि त्यस्ता चौकी निर्माण भइरहेका छन् ।

मुलुकको व्यापार सहजीकरणका लागि सरकारले भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै र सुख्खा बन्दरगाहमा पूर्वाधार मजबुत बनाउँदै लैजाने योजनाअन्तर्गत एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा उक्त चौकी निर्माण गरिएको हो ।

यो एकिकृत भन्सार जाँच चौकीमा अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटेल, पशु र वनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, पार्किङलगायत सुविधा एउटै कम्प्लेक्सभित्र रहन्छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार आइसिपी शनिबारबाटै सञ्चालनमा आएको छ । आइसिपी सञ्चालनमा आएपछि सामान आयात र निर्यात गर्दा सीमा नाकामा उद्योगी तथा व्यवसायीले भोग्नुपरेको समस्या समाधान हुने विश्वास लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);