सयौं बिघा धानबाली नष्ट भएको भन्दै कृषक आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राकेश यादव , साउन २७ , रौतहट । बाढीको मौका छोपेर डिस्टिलरी उद्योग र चिनी मिलले दूषित पानी खोलामा मिसाएका कारण धानबाली नष्ट भएपछि आक्रोसित बनेका रौतहटका कृषकले आज पनि केहीबेर पूर्व–पश्चिम राजमार्गमा पर्ने चपुर–गौर सडकखण्ड अवरुद्ध गरेका छन् । स्थानीय झाझ खोलामा बाढी आएको मौका छोपेर ज्योति डिस्टिलरी उद्योग पिपरा पोखरिया र गरुडास्थित श्रीराम सुगर मिल्सले दूषित पानी खोलामा छाडिदिँदा सयौं बिघा धानबाली नष्ट भएको भन्दै कृषक आन्दोलित भएका हुन् ।

पीडित किसानहरुले नष्ट भएको धानको बोटसहित जिल्ला प्रशासन कार्यालय रौतहट घेराउ पनि गरेका थिए । उनीहरुले धानखेती नष्ट गराउने डिस्टिलरी र चिनी मिललाई कारबाहीका माग गरेका छन् ।

दुर्गा भगवती गाउँपालिका, माधवनारायण गाउँपालिका र गौर नगरपालिकाका कृषकले खेतमा सिँचाइ गर्ने झाझ खोलामा डिस्टिलरी र चिनी मिलले एक साताअघि दूषित पानी मिसाएका थिए । गत वर्ष पनि यी दुवै उद्योगले खोलामा दूषित पानी मिसाएपछि धानबाली नष्ट भएको थियो । धानबाली नष्ट भएपछि पीडित कृषकहरु के खाने भन्ने चिन्तामा छन् ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले कृषि प्राविधिकहरुको टोली परिचालन गरी वास्तविकता बुझेर आवश्यक कारबाही अघि बढाउने आश्वासन दिनुभएको कृषकहरुले बताएका छन् । तर, उनीहरु विश्वस्त छैनन् । हरेक वर्ष डिस्टिलरी र चिनी मिलले फाल्ने दूषित पदार्थका कारण धानबाली नष्ट हुँदै आए पनि कृषकले क्षतिपूर्ति पाउन सकेका छैनन् । यसअघि पनि तत्कालीन प्रमुख जिल्ला अधिकारीले अध्ययनपछि धान नष्ट भएबापत ज्योति डिस्टिलरी उद्योग, बाबा डिस्टिलरी विर्ता र श्रीराम सुगर मिल्सलाई दोषी ठहर गरी ८ करोड जरिवाना गरेका थिए । तर, उक्त निर्णयलाई चुनौती दिँदै डिस्टिलरी उद्योगले पुनरावेदन अदालत हेटौंडामा रिट दायर गरे । सो मुद्दामाथि अहिलेसम्म अन्तिम सुनुवाइ हुन नसक्दा कृषक थप पीडित भएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);