काठमाडौं, २३ चैत । महानगरपालिकामा जनप्रतिनिधि आएको एक बर्ष हुन लाग्दा पनि विश्वसम्पदा सूचीकृत काष्ठमण्डप पुनर्निर्माण अघि बढ्न सकेको छैन । स्थानीयवासीको पहलमा सुरु भएको पुननिर्माणमा भाजो हालेका जनप्रतिनिधि स्वयंले समेत काष्ठमण्डप पुनर्निर्माणलाई वेवास्ता गरिरहेका छन् ।
महानगरमा गत जेठमा मेयर विद्यासुन्दर शाक्यसहित नयाँ जनप्रतिनिधि आएका हुन् । निर्वाचन भएलगत्तै मेयर शाक्यले काष्ठमण्डप निर्माण गर्ने घोषणा गरे । तर, उनको बोली घोषणामै सीमित भएको छ ।
सरकारले पुननिर्माणमा चासो नदिएपछि गत बैशाखमा स्थानीयले काष्ठमण्डप बनाउने घोषणा गरेका थिए । भूकम्पले भत्काएको दुई बर्ष पुगेको बेला पुननिर्माणमा अघि सरेका स्थानीयवासीलाई महानगरले सहयोग गर्नुको साटो उल्टै असहयोग गर्यो, आफै बनाउने घोषणा गरेर ।
तर, अहिलेसम्म न महानगरले पुननिर्माण गर्यो न त अरु कसैलाई बनाउन नै दियो । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।




