ओली-मोदीबीच आर्थिक विकासका मुद्दामा छलफल गर्ने कूटनीतिक तयारी | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

ओली-मोदीबीच आर्थिक विकासका मुद्दामा छलफल गर्ने कूटनीतिक तयारी

oli modi

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलीबाट भारतको तीन दिने भ्रमण गर्दै छन् । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालको आर्थिक समृद्धिका बिषयमा कुरा उठाउनु पर्ने विज्ञहरुले सुझाव दिएका छन् । भारतले बिगतमा गरेका कतिपय प्रतिबद्धताहरु पुरा नगरेकाले त्यस बिषयमा पनि ओलीले कुरा उठाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

प्रधानमन्त्री ओली २ तिहाइभन्दा बढीको समर्थनमा बनेको सरकारको बलियो प्रधानमन्त्रीको रुपमा भारत जान लाग्नु भएको छ । ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आर्थिक विकासका मुद्दामा छलफल गर्ने गरी कूटनीतिक तयारी भएको छ । आर्थिक समृद्धिका कुरा गरिरहेका प्रधानमन्धी ओलीको यसपटकको भारत भ्रमण विगतभन्दा निकै उपलब्धिपूर्ण हुने जनअपेक्षा पनि छ । नेपालमा भारत र चीनको लगानी बढ्दै गएको अवस्थामा सरकारले लगानीमा जोड दिनुको साथै लगानी कुन क्षेत्रमा कसरी ल्याउने भन्ने बारेमा नै विशेष महत्व दिनु पर्ने विज्ञहरु बताउँछन् ।

नेपाललाइ विगतमा भारतले भूकम्पको बेलादेखी विभिन्न समयमा गरेको अर्बौँ रुपैयाँको सहयोग प्रतिबद्धता पुरा गरेको छैन् । अब प्रधानमन्त्री ओलीको भ्रमणले पूरा हुन बाँकी प्रतिबद्धता र थप विकास निर्माण तथा अन्य क्षेत्रहरुमा लगानीको प्रतिबद्धता प्राप्त हुने अपेक्षा गरिएको छ ।

त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणका बेला लामो समयदेखि तयार हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनको विषय पनि मूख्यरुपमा छलफल हुने अपेक्षा गरिएको छ । पञ्चेश्वर परियोजनाबाट वर्षभर जुनसुकै बेला न्यूनतम ९ सय २५ मेगावाट विद्युत उत्पादन हुने विषयमा दुवै पक्षबीच सहमति भइसकेको छ । तर अन्य विषयमा सहमति हुन नसकेकाले विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम प्रायः अवरुद्ध छ ।

यसका साथै बिरगंन्ज नाका सहित अन्य नाकाहरुबाट कार्गो खुलाउन, रेलमार्ग विस्तार, भन्सार नाकामा समान आयत निर्यातमा सहजिकरण, एकिकृत भन्सार नाका तथा सुख्खा बन्दारगाह संचालन, पेट्रोलियम पाइपलाईन विस्तारलगायतका व्यापार सहजीकरण र विकास निमार्णका परियोजनाका एजेण्डाहरुमा छलफल गरिनु आवश्यक रहेको छ । त्यस्तै नेपालले भारतसँग बेहोर्नु परेको ब्यापार घाटा कम गर्न प्रधानमन्त्रीले भारतसमक्ष कुरा उठाउनु पर्ने परराष्ट्रविदको सुझाव छ ।

पूर्वाधार, जलविद्युतलगायत विभिन्न क्षेत्रमा केहीवर्षयता न्यून हुन थालेको भारतीय लगानी पुनः बढाउनेमा प्रधानमन्त्रीको ध्यान पुग्नुपर्ने देखिन्छ । त्यस्तै नेपालले बंगलादेश हुँदै गर्ने व्यापारमा सहयोग गर्ने भारतको प्रतिबद्धता कार्यान्वयनमा ल्याइनुपर्ने बिषय पनि टड्कारो छ । भ्रमण औपचारिकतामा मात्र सीमित नभई नेपालको बिकासका लागि आर्थिक रुपमा उपलब्धिमूलक बनाउनु पर्ने बिज्ञहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);