धनगढी, २१ चैत । रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै विराटनगर किंसले डिपीएलमा पहिलो जित हात पारेको छ । बुधबार धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा भएको खेलमा १ सय ८२ रनको लक्ष्य पछ्याएको रुपन्देही २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रनमा समेटियो ।
रपन्देहीका लागि ओपनर ब्याट्सम्यान प्रदिप ऐरीले सर्वाधिक ५४ रन बनाए भने दिपक प्रसादले २२ को योगदान गरे । त्यस्तै सुशन भारीले अबिजित २१ रन बनाउँदा शक्ति गौचनले १४ रन जोडे । यी बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । रुपन्देहीलाई १ सय ३९ रनमा समेट्ने क्रममा विराटनगरका सुब्हम कामतले ३, रामनरेश गिरीले २ तथा पारस खड्काले १ विकेट झारे ।
यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको विराटनगर किङ्सले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । विराटनगरका लागि बाबर हयातले अर्धसतक बनाउने क्रममा सर्वाधिक ५४ रन बनाए । त्यस्तै दिलिप नाथले ४३, अनिल शाहले ३६, कप्तान पारस खड्काले २२ र सौरव खनालले अबिजित १७ रन बनाए ।