फूलमाया आले
काठमाडौ, १८ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशमा जान निवेदन दिएका कर्मचारीको नामवली प्रकाशन स्थगित गरेको छ । नामावली प्रकाशन स्थगित गरे पनि मन्त्रालयले आगामी कदमको विषयमा भने केही निर्णय गरेको छैन ।
स्वेच्छिक अवकाशमा जान निवेदन दिएका कर्मचारीको अन्तिम समयमा नामावली प्रकाशन रोकिएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार चैत १३ गते स्वेच्छिक अवकास रोजेका कर्मचारीको सूची सार्वजानिक गर्नुपर्ने थियो । तर, मन्त्रालयले नामावली प्रकाशन गरेको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकास रोज्ने कर्मचारीको सूची सार्वजानिक नहुने बताए पनि मन्त्रालयले आधिकारिक धारणा भने सार्वजानिक गरेको छैन । कर्मचारी बढी चाहिने बेलामा भएको कर्मचारीलाई पनि विदाई गर्ने पक्षमा सरका नरहेको मन्त्री पण्डितको भनाइ छ ।
कर्मचारी समायोजन ऐन २०७४ ले व्यवस्था गरेअनुसार संघ, प्रदेश र स्थानीय तहमा जान नचाहेका पाँच जना सचिवसहित नौ हजार छ सय ५६ कर्मचारीले स्वेच्छिक अवकासका लागि निवेदन दिएका थिए । चालू आर्थिक वर्षमा करिब ३ हजार कर्मचारीले भने स्वतः अवकास पाउने मन्त्रालयले जनाएको छ । तर मन्त्री पण्डित भने राज्यलाई सक्षम र अनुभवी राष्ट्रसेवक कर्मचारीको आवश्यकता रहेको बेला राज्यले लगानी गरी दक्ष बनाएका कर्मचारीलाई एकमुष्ट रकम दिएर विदाई गर्न नुहुने बताउछन् ।
अघिल्लो सरकारले कर्मचारी समायोजन ऐन मार्फत ५० बर्ष उमेर पुगेका र २० बर्ष सेवा अवधि पुरा गरेका नीजामति कर्मचारीले स्वेच्छिक अवकास लिन सक्ने व्यवस्था गरेको थियो । सोही ऐनको आधारमा अवकाशका लागि निवेदन दिएका कर्मचारीको अन्तिम समयमा मन्त्रालयले नामावली प्रकाशन नगर्दा अन्योल भएको छ ।