मिना कटुवाल
काठमाडौं, १४ चैत । सञ्चार प्रविधिमा आएको विकासले विश्वलाई नै साँघुुरो बनाएको छ । अहिले विश्वका जुनसुकै कुनामा रहेका मानिस एक–अर्कासँग सहज सम्पर्क गर्न सक्छन् । यसमा सामाजिक सञ्जालको महत्वपूर्ण स्थान छ । जसले विभिन्न ठाउँमा छरिएर रहेकाहरुलाई एउटै सञ्जालमा आबद्ध गरेको छ । तर, पछिल्लो समय सामाजिक सञ्जालका कारण विकृति मौलाएको आवाज उठ्न थालेको छ ।
प्रविधिको विकाससँगै साइबर अपराध बढेको तत्थ्यलाई नकार्न सकिँदैन । अझ सामाजिक सञ्जालमा जो कोहीको सहज पहुँच हुँदा यसको दुरुपयोग गर्ने क्रम पनि बढ्दो छ । नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको लागि व्यवस्थित गर्ने कुनै संयन्त्र नहुँदा विकृति बढ्दै गएको छ । सामाजिक सञ्जलको प्रयोग गरेर अपराधिक गतिविधि गरेको घटना पनि सार्वजनिक भइरहेका छन् ।
यसै सन्दर्भमा राष्ट्रयसभामा सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्ने आवाज उठेको छ । नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले सामाजिक सञ्जालले विकृति ल्याएको भन्दै यसलाई नियन्त्रण नगरे भयावह स्थिति सिर्जना हुने बताए ।
कार्यालय समयमा कर्मचारी सामाजिक सञ्जालमा व्यस्त हुँदा काममा प्रभाव परेको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने घोषणा गरेका छन् । तर स्वतन्त्रता पक्षधरहरु भने सामाजिक सञ्जालमा अंकुश लगाउन नहुने बताउँछन् । लोकतान्त्रिक मुलुकमा वाक स्वतन्त्रताविरुद्ध आवज उठ्नु नै नहुने उनीहरुको भनाइ छ ।
त्यसो त आवश्यक भन्दा बढी स्वतन्त्रता पनि हानिकारक हुन्छ । स्वतन्त्रताको पनि सीमा रहन्छ । पत्रकार धु्रवहरी अधिकारी सामाजिक सञ्जाललाई बन्द गर्ने भन्दा पनि ऐन बनाएर नियमिति निगरानी गर्नुपर्ने बताउँछन् ।
पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दो छ । समाजिक सञ्जलाको सदुपयोग गर्न सकियो भने सूचना संप्रषणका लागि यो उपयुक्त माध्यम बन्न सक्छ । तर, यसको दुरुपयोग भयो भने सांसद विडारीले भने जस्तो भयावह स्थिति नआउला भन्न सकिँदैन । त्यसैले प्रविधिको सदुपयोग गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समाजप्रति जिम्मेवार बनाउनेतर्फ ध्यान दिन जरुरी छ ।