कांग्रेस बैठकमा पक्ष–विपक्षको बहस, कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस बैठकमा पक्ष–विपक्षको बहस, कसले के भने ?

congress metting

काठमाडौं, १३ चैत । कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् ।

संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् । सोमबारको बैठकमा डा. शेखर कोइराला र डा. डिला संग्रौलाले लिखित रूपमा आफ्ना विचार राखे । अन्य सदस्यहरूले मौखिक धारणा राखे । शुक्रबारदेखि सुरु भएको बैठकमा सबै सदस्यले आफ्ना धारणा राखिसकेपछि सभापति देउवाले जवाफ दिनेछन् ।,

कसले के भने
निर्वाचनमा पराजयको दोष सभापतिले लिनुपर्छ शेखर कोइराला
निर्वाचनमा पार्टी परिचालन भएन, कम्युनिस्टले जस्तो नारा ल्याउन सकेनौँ, भारतको नाकाबन्दी भन्न सकेनौँ, सरकारमा बस्दा काम गर्न सकेनौँ । अर्कोतिर चितवनका कार्यकर्ताले हामीलाई सोध्न थालेका छन्– एकपटक हँसिया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा । अब आउने निर्वाचनमा हामीले केमा भोट हाल्ने सभापतिजी हामीले कार्यकर्तालाई के जवाफ दिने निर्वाचनमा हारको दोष सभापतिले लिनुपर्छ । मेरो भागमा कति पर्छ म पनि लिन्छु ।

टिकट कति बेचियो छानबिन गरौँ बलबहादुर केसी
मेरो जिल्ला सोलुखुम्बुमा अहिलेसम्म कांग्रेसलाई भोट नहालेका व्यक्ति प्रदेश सभाका उम्मेदवार बनाइए । यसरी पैसाको चलखेल भएको छ । यसमा केन्द्रीय सदस्य र भाउजू सभापतिपत्नी आरजुप्रति लक्षित गर्दैको पनि हात छ भन्ने सुनिएको छ । पैसाको बलमा टिकट दिनु गम्भीर गल्ती हो । क–कसले कहाँबाट पैसा ल्याए पैसाका आधारमा कहाँकहाँ टिकट दिइयो हिसाबकिताब पाउनुपर्यो‍ । छानविन आयोग गठन गरेर स्थानीय तहदेखि केन्द्रसम्मको टिकटबारे स्पष्ट पार्नुपर्छ ।

शिवजीको गलामा साप बसेजस्तै अहिले सभापतिको गलामा पनि साँपहरू बसेका छन् । गरुडलाई देखेपछि यसरी बसेको साँप कता पुग्छन् कता । सभापतिको वरिपरी भएका सापहरू पनि यस्तै हुन् ।यस्तै कारण तपाई सभापति पनि सिध्निुहुन्छ ।

तपाईं सभापति प्राविधिक रूपमा मात्र चुनाव जितेको हो । प्रदेशसभामा दुवै उम्मेदवारलाई जिताउन सक्नुभएन । प्रधानमन्त्रीको सारा शक्ति प्रयोग गर्दा आफ्नै प्रदेशसभा र श्रीमतीलाई पनि चुनाव जिताउन सक्नुभएन । यसकारण तपाईंले व्यक्तिगत रूपमा मात्र निर्वाचन जित्नुभएको हो । अब सबै हारको दोष सभापतिले लिनुपर्छ । विधान विपरीत भएका संसदीय बोर्ड र कार्य सम्पादन समिति खारेज गर्नुपर्छ । महासमिति बैठक बोलाएर सबै कुराको छिनोफोनो गर्नुपर्छ ।

सभापतिलाई मात्रै दोष दिन पाइँदैन रमेश लेखक
सामूहिक निर्णय प्रणालीबाट कांग्रेस चल्दै आएको छ । तसर्थ निर्वाचनमा भोगेको हारको जिम्मा र जसअपजस सबैले लिनुपर्छ । हरेक काम नेताहरूबीच सहमतिमा गर्ने अनि परिणाम राम्रो आएन भनेर सभापतिलाई मात्र दोष दिने शैली ठीक होइन । निर्णय प्रक्रियामा सामेल भइसकेपछि दोषी सबै हौं ।

३० वर्षसम्म पनि उम्मेदवार बन्न किन योग्य भइनँ गोविन्द भट्टराई
अवैधानिक रूपमा गठन गरिएका संसदीय र कार्यसम्पादन समिति विघटन हुनुपर्छ । हामीले कुनै मापदण्ड नै नबनाइ टिकट वितरण गर्दा हार्यौं । यसको बढी दोष सभापतिले लिनुपर्छ तर, पार्टी हारको जिम्मा सबैले लिनुपर्छ । पार्टीमा लागेको ३० वर्ष भयो प्रतिनिधिसभाको उम्मेदवार योग्य भइनँ किन सभापति ज्यू

टिकट बाँड्ने समितिमा म किन परिनँ आनन्द ढुंगाना
संसदीय समिति अवैधानिक भएको विषय बालुवाटारमा प्रधानमन्त्रीलाई भनेको थिएँ । तर, मेरो कुरा सुनिएन । सुशील कोइराला सभापति हुँदाका संसदीय समितिका सबै सदस्य यसपटक परे तर म किन परिनँ सभापति जी

मासवेसमात्र होइन क्याडरवेस बनाउँ डा.डिला संग्रौला
पार्टीलाई अगाडि लैजान अब गुट र व्यक्तिवादी चिन्तनबाट माथि उठाउनुपर्छ । विकास र समृद्धिको एजेन्डालाई उठाउनुपर्छ । साधारण र क्रियाशील सदस्यताले मात्रै रिजल्ट दिएन अब साधारण, क्रियाशील र प्रतिवद्ध सदस्य बनाउनुपर्छ । कांग्रेसलाई अब ‘मासवेस’ मात्र होइन ‘क्याडरवेस’ पार्टीका रूपमा विकास गर्नुपर्छ । तल्लो तहका निर्णयका आधारमा पार्टी संचालनको शैली अबलम्बन गर्नुपर्छ ।

निर्वाचनमा बामपन्थी गठबन्धन बन्यो तर, हामीले लोकतान्त्रिक गठबन्धन अरूलाई जिताउन बनायौं । हामीलाई सहयोग भएन । अब म, मेरो नभनौं । हाम्रो भनेर जाउँ । पुनर्जागरण, पुनर्ताजगीको कार्यक्रम गाउँगाउँ लिएर जानुपर्छ । हारको जिम्मा पदीय मर्यादा अनुसार सभापतिको बढी भए पनि दोषी सबै छौं । अब महासमिति बैठकले विधान संसोधन गर्दै संघीय संरचना अनुसार पार्टीलाई बदल्ने र पार्टीका हरेक तहमा पदाधिकारीसहित ३३ प्रतिशत महिलाको आरक्षण सुनिश्चित गर्नुपर्छ ।

दलितलाई किन टिकट नदिएको जीवन परियार
युवा नेताहरू आकर्षणका केन्द्र हुन् तर, हाम्रो पार्टीमा धनराज गुरुङ, कल्याण गुरुङ र गुरु घिमिरेले किन टिकट पाएनन् दलितहरूलाई किन अवसर नदिने दलितहरूले कांग्रेसलाई भोट दिएनन् भनिन्छ तर, देशभरमा प्रत्यक्षमा दलितका तर्फबाट मैंलेमात्र टिकट पाएँ । दलितले भोट दिएनन् भन्ने खस आर्यले चाँहि किन भोट दिएनन् यसको कारण खोजी गरौं ।

खुमबहादुरको स्वास्थ्यप्रति चिन्ता व्यक्त
कांग्रेस बैठकले केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेको छ । भारतमा उपचार गराइरहेका खड्काको स्वास्थ्यलाभको कामना गर्दै कांग्रेसले स्वास्थ्यस्थिति बुझ्न केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाउँने निर्णय गरेको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);