२५ साउन, काठमाडौँ । स्वाइनफ्लुका कारण हालसम्म १० जनाको मृत्यु भएको छ भने ३८१ जना बिरामी परेका छन् । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्दै उक्त जानकारी दिएका हुन् ।
सर्वसाधारणलाई मात्र नभएर यो रोग एकजना चिकित्सकलाई पनि लागेको तर उनलाई अहिले निको भइसकेको मन्त्री पोखरेलले बताए । स्वाइनफ्लु रोकथामका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको उनले जनाए ।
मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक रोग नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्ष समक्ष आग्रह गरेका छन् ।