काठमाडौं, २ चैत । मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत ८४ प्रतिशत श्रमिकहरुले विदाको सुविधा नपाएको एक अध्ययनले देखाएको छ ।
शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको श्रम व्यवस्था अध्ययनले मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत ८४ प्रतिशत श्रमिकहरु विदाको सुविधाबाट बञ्चित रहेको देखाएको हो । उनीहरुमध्ये ४ प्रतिशतलाई मात्रै साप्ताहिक विदाको सुविधा दिने गरेको पाइएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
काठमाडौं उपत्यका भित्रका ५ सय ४ जना सहभागीसँग छलफल गरि तयार पारिएको अध्ययनले ५ प्रतिशत श्रमिकले मात्रै नियुक्त पत्र पाउने गरेको देखाएको छ । उनीहरुले रातिको यात्राका क्रममा प्रहरी प्रशासनले सास्ती दिने गरेको गुनासो पनि गरेका छन् ।
स्वतन्त्र अभियान नेपाल, महिलाका लागि महिला मंच, विश्वास नेपाल, शक्ति समूह लगायतका सामाजिक संघ, संस्थाहरुले सामूहिक रुपमा गरेको अध्ययनमा मनोरञ्जन क्षेत्रमा ६० हजार भन्दा बढि श्रमिकहरु कार्यरत रहेको पनि उल्लेख गरिएको छ ।




