काठमाडौं, १ चैत । उमेर हदका कारण न्याय परिषद् सचिवालयबाट पदमुक्त भएपछि पनि प्रधानन्यायाधीशको हैसियतमा गोपाल पराजुलीले कामकारबाही अघि बढाएमा सत्तापक्षले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेको छ । न्यायापरिषद सचिवालयले पराजुलीलाई बुधबार दिउँसो ०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिएपछि पनि उनले प्रधानन्यायाधीशकै हैसियतमा न्यायपरिषद् बैठक राखेका थिए ।
त्यसलाई लिएर प्रधानमन्त्री केपी ओलीसहितका सत्तापक्षका नेताहरुले असन्तुष्टि जनाउँदै पराजुलीविरुद्ध महाअभियोग लगाउनेबारे छलफल गरेका हुन् । ‘हामीले त सम्मानपूर्वक बहिगर्मनका लागि बिदामा बस्नुहोस् भन्ने सुझाव दिएका हौं तर मान्नु भएन । न्यायपरिषद्ले अवकाश भएको जानकारी दिइसकेपछि पनि प्रधानन्यायाधीशको हैसियतमा गतिविधि अघि बढाउने काम भएको छ। उहाँ बाहिरिनु भएन भने महाअभियोग आउँछ,’ स्रोतले भन्यो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले अहिले देखिएको विवादबाट अलग रहन पराजुलीलाई बिदामा बस्न सुझाव दिँदै आएका थिए । तर, उनी बिदामा नबसेपछि राष्ट्रपति भण्डारीलाई बुधबार शपथ लिन समेत संकट परेको थियो। आजको कान्तिपुरमा खबर छ ।